म्याग्देकाे निशुल्क दन्त शिविरबाट तीन सय भन्दा बढी लाभान्वित
तनहुँकाे म्याग्दे स्थित थर्पू आधारभूत अस्पतालमा पाैष १ गतेदेखि ५ गतेसम्म भएको वृहत दन्त शिविरबाट तीनसय भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
म्याग्दे गाउँपालिका अन्तर्गत रहेका दांत सम्बन्धी समस्या भएका नागरिकहरु लक्षित शिविरमा पाँचै दिन बिरामीहरूकाे ठुलो भिड लागेको म्याग्दे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए । दैनिक ६० जनाको परिक्षण गर्ने भनिएपनी अत्याधिक भिडका कारण त्यो भन्दा बढिकाे संख्यामा उपचार गरिएको घिमिरेले जानकारी दिए ।

दन्त परिक्षण शिविरमा दांतको X-Ray, दाँत सफा गर्ने, दाँत भर्ने, दांत निकाल्ने, दाँतको जरै देखिको उपचार, गिजाको उपचार, लगायत दाँत रोग सम्बन्धी औषधी वितरण समेत गरी म्याग्दे वासी नागरिकहरुलाई सेवा पुऱ्याइएकाे म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।
म्याग्दे गाउँपालिका र नेलम्बो नेपाल गैरापाटन पोखरा विच भएको सम्झौता अनुसार शिविर सञ्चालन गरिएको हाे । शिविरमा दांत सम्बन्धि समस्या भएका नागरिकहरु उपस्थित भई सहज रुपमा दन्त उपचार सेवा लिएका थिए ।
सुक्रवार सम्पन्न सिविर समापन कार्यक्रममा बाेल्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सिमित श्राेत र जनशक्तिकाे कारण जनअपेक्षा अनुसार सेवा दिन नसकिएकोले उक्त संस्था र गाउँपालिकाकाे सहकार्यमा यसै आ.व.मा पुन दन्त शिविर आयाेजना गर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले आगामी आ.व मा पनि शिविर मार्फत नागरिकलाई दन्त सेवा पुर्याउने लक्ष्य गाउँपालिकाेले लिएकाे बताए ।

























