दमाैलीमा फागुन २५ देखि २७ गतेसम्म महिला उद्यमी व्यापार मेला हुने:

दमाैलीमा फागुन २५ देखि २७ गतेसम्म महिला उद्यमी व्यापार मेला हुने:

महिला उद्यमी संघ नेपाल तनहुँले ११४औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा यही फागुन २५ देखि २७ गतेसम्म व्यास –३ स्थित खुल्ला चौरमा महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ ।

संघले शनिवार दमौलीमा पत्रकार सम्मेलन गरि
महिला उद्यमीद्वारा उत्पादित र महिला संलग्न रहेको व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले दमौलीमा ३ दिने महिला उद्यमी व्यापार प्रदर्शन तथा प्रवद्र्धन मेला आयोजना गर्न लागेको बारेमा जानकारी गराएकाे हाे ।
पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार मेलामा महिलाद्वारा उत्पादित सामग्रीको ५० वटा स्टलहरु राखिने छ ।

महिला उद्यमी संघ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लले मेलामा हस्तकलाका सामान, ढाका तथा घरबुनाका कपडा ,जैविक खाद्य पदार्थ , स्थानीय खानेकुराका परिकार ,काठजन्य वस्तु , जडीबुटी , कृषिजन्य उत्पादन , गरगहना, सजावटका सामन लगायतका स्टल राखिने जानकारी दिइन् ।

निशुल्क स्टल राख्ने अवसर प्रदान गरिने उक्त मेलामा २३ व्यवसायीको स्टल बुकिङ्ग भइसकेको अध्यक्ष मल्लले जानकारी दिइन् । दुर दराजमा रहेका महिला व्यवसायीहरुको उत्पादनको बजारीकरण गर्न तथा साना तथा घरेलु व्यवसायलाई प्रोत्साहन र प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको आयाेजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा व्यास नगरपालिकाकि उपप्रमुख इन्दिरा दरैले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न व्यापार मेलाका लागि नगरपालिकाले सहयोग गर्न लागेको बताइन् । नगरपालिकाले तालिम दिएर धेरै महिला उद्यमी तयार गरेको छ, यस्ता कार्यक्रमले ती उद्यमीलाई पहिचान गरि तीनका उत्पादनको बजारीकरणमा दीर्घकालिन रुपमा सहयोग गर्ने मौका मिल्नेछ उपमेयर दरैले भनिन् ।

स्थानीय उत्पादन मात्र विक्री वितरण र प्रदर्शन गरिने भएकाले पनि यो मेला अन्यको तुलनामा फरक हुने आयोजकको दावि छ । लोप हुदै गएका रैथाने उत्पादनको प्रदर्शन गरिने र त्यसले नयाँ पुस्तालाई घरेलु उत्पादन बारे जानकारी गराउन मद्दत पुग्ने आयाेजककाे भनाइ छ ।
महिलाहरुले परम्परागत सीप र कलालाई प्रयोग गरि उत्पादन गरेका सामग्रीहरु गुणस्तरीय हुदाँहुदै पनि बजारीकरणमा समस्या भोग्नु परेको धेरै गुनासा आइरहेको अवस्थालाई मध्यनजर गरि स्थानीय पालिकासँग समन्वय गरि मेला आयोजना गरिएको मल्लले बताइन् । उक्त मेलाका लागि व्यास नगरपालिकाले आर्थिक सहयोग गरेको छ । 

पत्रकार सम्मेलनमा पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल र पुर्व अध्यक्ष डम्बर अधिकारीले उत्पादन गर्ने क्रम घट्दै गइएको बेला यस्ता कार्यक्रमले उत्पादनसँग जोडिएका महिलाहरुलाई हौसला मिल्ने विश्वास व्यक्त गरे । साथै दीर्घकालिन रुपमा स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्न पनि संघलाई अनुरोध गरे । 

उक्त मेलालाई तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी महासंघ नेपालले संरक्षकत्व  प्रदान गर्ने छ भने तनहुँ उद्योग वाणिज्य संघले समन्वय गर्नेछ । मेलाको सहआयोजकमा तनहुँ उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समिति, महिला उद्यमी संघ,दमौली बजार इकाई, डुम्रे बजार इकाई, बन्दीपुर इकाई समिति र शुक्लागण्डकी इकाई समिति रहनेछन् । 

मेलामा तनहुँका चेलिहरू ख्यातिप्राप्त गायिका प्रिति आले र कला लम्साल लगायतका स्थानीय कलाकारहरूकाे सांगितिक प्रस्तुती रहने बताइएको छ । महिलाहरुको आर्थिक, सामाजिक र कानुनी हक स्थापित गर्न चेतनामुलक कार्यक्रम, वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम पनि मेलामा समेटिने महिला उद्यमी संघ नेपाल तनहुँकी महासचिव सरु श्रेष्ठले जानकारी दिइन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page