घुमाउनेकाे पुल ११ वर्षसम्म नबनेपछि स्थानीय आन्दोलित

घुमाउनेकाे पुल ११ वर्षसम्म नबनेपछि स्थानीय आन्दोलित
Oplus_0

११ वर्षदेखि पुल निर्माण नहुनु तथा सडक स्तरोन्नती नभएपछि गण्डकी प्रदेशलाई तराई जोड्ने छोटो दुरीको बुद्धसिंह मार्गका उपभोक्ता आन्दोलित भएका छन् । आन्दोलित बासिन्दाले सडक अवरोध गर्नुका साथै सडकमै धर्ना दिएका छन् ।

यो मार्गमा पर्ने आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथि निर्माण भइरहेको पुल दश वर्ष सम्म पनि पुरा नहुनु र अन्य चार खोलाहरूमा पुल नहुँदा आवतजावतलाई समस्या भएकोले स्थानीय आन्दोलित हुन बाध्य भएको सङ्घर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले बताए । शनिवार उक्त मार्गमा धर्ना दिई सकिएको र माघ १४ गते सदरमुकाम दमौलीमा धर्ना दिइने र माग पुरा नभए थप कडा आन्दोलन गरिने उनले बताए । विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो तर पुल अहिलेसम्म फाउन्डेसनकै चरणमा छ । अहिलेसम्म दुईतिरको भागमा पिलर मात्रै ठडिएको छ । सडक डिभिजन कार्यालयले सम्झौता अनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने पटक पटक बताउँदै आएपछि खुरुखुरु म्याद थप गर्दै आएको स्थानीयले गुनासो गरेका छन्  । डिजाइन एन्ड बिल्डका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइन अनुसार पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहनेछ । 

आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत आठ करोड २६ लाख रुपियाँ छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ। हेडौंडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक कार्यालयकै उच्च कर्मचारीको मिलेमतोमा पुलको डिजाइन स्थलगत अध्ययन विना नै कोठाभित्र भएकोले गर्दा यस्तो समस्या भएको स्थानीयको आरोप छ । डिजाइनमै राज्यको करोडौँ खर्च भएको र गलत डिजाइनले गर्दा भएको राज्य कोषको करोडौँ खर्च छानबिन गरेर डिजाइन कम्पनीबाटै असुलउपर गर्नु पर्ने स्थानीयवासीले माग गरेका छन् । 

सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसक्दा यात्रुलाई सास्ती हुनुका साथै इन्धनमा हुने खर्च कटौती हुन सकेको छैन ।  सडक डिभिजन कार्यालय दमौलीकी प्रमुख सिनियर डिभिजन इन्जिनियर राजीव श्रेष्ठले पुलको डिजाइन परिवर्तन गर्न लागिएको पुल निर्माणको काम रोकिएको बताइन् । अहिलेको डिजाइनबाट बाढीले क्षति हुने देखिएको राज्यको लगानी खेर नजाओस् भनेर परिवर्तन गर्न लागेको श्रेष्ठ बताउँछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page