चर्चामा रामशाह मावि ! नकारात्मक टिप्पणी प्रति स्काउटको आपत्ती

चर्चामा रामशाह मावि ! नकारात्मक टिप्पणी प्रति स्काउटको आपत्ती

तनहुँको आँबुखैरेनीमा रहेको रामशाह माध्यमिक विद्यालयले शनिबार आफ्नो ५४ औं वार्षिक उत्सव तथा अभिभामवक मिलन समारोह भव्य रुपले मनायाे । उक्त कार्यक्रममा तनहुँ क्षेत्र नं. १ का संघिय सांसद डा. स्वर्णिम वाग्ले प्रमुख अतिथि रहेका थिए ।
बार्षिक उत्सव समारोहमा विद्यालयका विद्याथीहरुद्धारा विविध सांस्कृतिक कार्यक्रम, नेपाल रेडक्रस तथा स्काउटका विद्यार्थीहरुद्धारा मार्च पास, स्काउटका विद्यार्थीहरुद्धारा जिप लाईन तथा स्काउट नृत्य प्रस्तुत, शिक्षिकाहरुद्धारा नृत्य प्रस्तुत गरिएको थियो ।
यही बिषय बस्तु मध्ये बिद्यार्थीहरूले जिपलाइन मार्फत गरेको पुस्प वृष्टि र प्रमुख अतिथि वाग्लेलाई फुलकाे माला लगाइ गरेको स्वागतले सनसनी मच्चाएको छ र भाइरल बनिरहेको छ । स्काउटका बिद्यार्थीले समय अनुसार विभिन्न फरकफरक प्रविधिहरू मार्फत आफ्नाे क्षमता प्रस्तुत गरेको बिषय यति धेरै नकारात्मक टिकाटिप्पढी र भाइरल बन्ला भनेर न त बिद्यालयले साेचेकाे थियो , न त प्रमुख अतिथिले नैं , जवकी यसवारेमा प्रमुख अतिथिलाई समेत थाहा नभएको बिषय भएको बताइएको छ । बिद्यार्थीहरूकाे प्रतिभाकाे सकारात्मक प्रतिक्रिया र सम्मान आउनुपर्ने ठाउँमा बिषयलाइ बिषयान्तर गर्दै केहीले अफवाह फैलाएको बुझाइ बिद्यालयकाे छ । उक्त कार्यक्रममा न त राजनीति नैँ त्यहाँ घुसाइएकाे छ , न त अन्य बिवादास्पद कार्यक्रम नैँ । बिद्यालयकाे वार्षिकोत्सब कार्यक्रममा हरेक वर्ष काेही न काेही प्रमुख अतिथि आउने गरेको र यसपटक यही क्षेत्रका सांसदलाई बाेलाइएकाे सामान्य बिषय मात्रै हाे । खर्चको मितव्ययिता अपनाउँदै व्याच समेत नलगाइ केवल बिद्यार्थीहरूले आँफुले गरेको काम प्रमुख अतिथिलाई देखाउने मात्रै उद्भेश्य राखी गरेको कामलाई अतिरञ्जीत गरिएको बिद्यालयका शिक्षक लक्ष्मण सिंखडा बताउँछन् ।
त्यसाेत यही बिषयलाई आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भने स्वभाविक भएको प्रतिक्रिया दिएका थिए । स्काउट भित्र यस्ता प्रस्तुती नियमित हुने अध्यक्ष चुमानले बताएका थिए ।
यद्यपि यता नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गन्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले रामशाह माविका प्रअ लगायतलाई कारवाही गर्नु पर्ने भनी सामाजिक सञ्जालमा लेखेका छन् ।

चौथो तलामाथिबाट जिपलाईनमा आई कार्यक्रमका प्रमुख अतिथी तनहुँ क्षेत्र नम्बर १ का सांसद स्वर्णिम वाग्लेलाई माला लगाईदिएको विषयमा सामाजिक सन्जाल मार्फत बिराेध गर्दै पुर्व मन्त्री समेत रहेका गुरुङले उक्त कार्यक्रमका आयोजक तथा विद्यालयका प्रअ प्रेम राज लामिछानेलाई कारवाही गर्नु पर्ने बताएका हुन् ।

आफ्ना छोराछोरीको जीन्दगीमाथि खेलवाड गर्ने, अवोध बालबालिकाको जीवनमा खेलवाड गर्ने यिनीहरू गुरू होइनन्, नरपिचासहरू हुन् ।’ गुरुङले भनेका छन् ‘विद्यालय चटक देखाउने थलो होइन, विद्या आर्जन गर्ने पवित्र मन्दिर हो । ज्ञान आर्जन गर्ने ठाउँ हो, सर्कस होइन । न यो साहसिक खेल खेल्ने ठाउँ र उमेर हो । विद्यालयमा साहसिक खेल खेलाउन पाइदैन र उमेर नपुगेका कुनै पनि बालबालिकालाई साहसिक खेल खेल्न कानुनी प्रतिबन्ध छ । विद्यालयमा पढ्ने कलिला बालबालिकालाई यसरी गैरकानुनी जोखिमपुर्ण कार्य गराउने जोसुकै हुन्, कडा भन्दा कडा कारवाही हुनुपर्छ ।’

एमाले नेता गुरुङले आफ्नो स्टाटसमा कार्यक्रमका प्रमुख अतिथी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहेका डा. वाग्लेलाई समेत कटाक्ष गरेका छन् । ‘सहकारी ठगेर पार्टी सञ्चालन गर्ने, नेपाली नटवरलालहरू, तिलस्मी कथाका नायक ठान्नेहरू, स्वागतका भोका व्वाँसाहरू, कान खोलेर सुन्नु, यो बालहिंसा हो, यो कुनै साहसिक कार्य होइन, बालअपराध हो ।

यस सम्बन्धमा बिद्यालयका प्रअ प्रेमराज लामिछानेले नेपाल स्काउटको बारेमा बुझेर मात्रै प्रतिक्रिया दिन सुझाव दिएका छन् । मन्त्री भइसकेको व्यक्तिले बिद्यार्थीले देखाएको प्रतिभालाई लिएर प्रअ माथि कारबाही हुनुपर्ने भनेर दिएको सार्वजनिक अभिव्यक्ति प्रति उनलेे दुख व्यक्त गरेका छन् ।
गण्डकी प्रदेश स्काउटमा दाेस्राे र तनहुँमा पहिलो पाेजिशनमा रहेको रामशाह माविको स्काउट नमुना रहेको प्रअ लामिछानेको भनाइ छ । काेराेना पछि काेल्याप्स अवस्थामा रहेको स्काउटलाई रामशाह माविले जिवन्त दिँदै अहिले अत्यन्तै राम्रो अवस्थामा रहेको उनलेे जानकारी दिए । स्काउट अन्तर्गत यस्ता थुप्रै कार्यक्रम हुने भन्दै उनलेे उक्त दिन देखाइएको जिप लाइन लाई सुपर्मन जुम्प भनिने र यसमा हजारौ स्काउटले गरिसकेकाे जानकारी दिए । उक्त दिनमा पनि २० जना जतिले गरेका , अन्य समयमा शिक्षक हरू समेतले गर्ने गरेको भन्दै प्रअ लामिछानेले जिप लाइन अत्यन्तै बलियो र क्षमतावान भएको बताए । फुटबल , भलिबल खेल खेल्दा बरू कहिलेकाहीँ बिद्यार्थी घाइते हुने गरेको तर जिप लाइनमा त्यस्तो अहिलेसम्म नभएको बताउँदै उनलेे डाेरी नभइ फलामको तार भए पछि चुँड्ने सम्भावना नरहेको , ल्याव टेस्ट भएको डेढ टनकाे क्षमतावान महंगो सामाग्री रहेको जानकारी दिए । तालिम प्राप्त ७/८ जना स्काउट शिक्षकले दिएका तालिम प्राप्त स्काउट हाल बिद्यालयमा २ सयकाे संख्यामा रहेको उनलेे बताए । आँबुखैरेनी गाउँपालिकाका निवर्तमान अध्यक्ष गिरबहादुर थापा , हालका अध्यक्ष चुमान समेतकाे सहयोगमा याे सञ्चालनमा रहेको उनलेे बताए । हाम्रो स्काउट सामाग्री गण्डकी प्रदेशमा भन्दा धेरै र उत्कृष्ट रहेको भन्दै उनलेे चितवनका कार्यक्रममा थुप्रैपटक लगिएको जानकारी दिए ।
यता स्काउट प्रशिक्षक एवम् प्रमुख आयुक्त पृथ्वीबहादुर गुरूङले एक विज्ञप्ति प्रकाशित गर्दै बालबालिका तथा युवा वर्गलाई विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरुप उनीहरुको शारिरीक, मानसिक, बौद्धिक तथा संवेगात्मक विकास गरि उनीहरुलाई अनुशासित, स्वाबलम्बी, सच्चरित्रवान, सुयोग्य र कर्मशिल बनाई असल नागरिक बनाउने मूल ध्येयकासाथ स्थानीय स्काउट आँबुखैरेनीले आफ्ना गतिविधिहरु अगाडी बढाईरहेको कुरा अवगत गराएका छन् ।

उनलेे विज्ञप्ति यस्तो छ – मिति २०८१ साल पौष २७ गतेको दिन रामशाह माध्यमिक विद्यालयको ५४ औं वार्षिक उत्सव तथा अभिभावक मिलन समारोहको अवसरमा रामशाह स्काउट इकाईले प्रदर्शन गरेको सुपरम्यान जम्प (जिपलाईन) को बारेमा विगत केही दिनदेखि सामाजिक सञ्जालमा भईरहेको पोष्ट, शेयर र विभिन्न टिका टिप्पणीप्रति गम्भिर ध्यानार्कषण भएको छ र सो वारे स्थानीय स्काउट कार्यालय आँबुखैरेनी घोर आपत्ती प्रकट गर्दछ ।

विपत् एवं विपत् व्यवस्थापन‌मा बालबालिका तथा युवाहरुलाई अभ्यस्त गराई उद्धार कार्यमा सक्षम, साहसी र सीपयुक्त बनाउनका लागि स्थानीय स्काउट आँबुखैरेनीको माताहतमा रही रामशाह स्काउट इकाईले स्काउटको कार्यक्रम अन्तर्गत नियमित र वार्षिक रुपमा प्रयोगात्मक क्याम्पिङ, हाईकिङ जस अन्तर्गत सुप्रम्यान जम्प (जिपलाईन), ओमेगा जम्प, स्पाईडरम्यान, कमान्डो ब्रीज, मङ्की ब्रीज, ल्याडरक्रसिङ, टनेलक्रसिङ, रोप क्लाइम्बिङ, रक क्लाईम्बिङ जस्ता साहसी कृयाकलाप र विपत् उद्धार कार्यमा आवश्यक पर्ने कृयाकलापका अभ्यासहरु विगतदेखि नै निरन्तर गर्दै आईरहेको थियो।

उक्त दिनमा पनि रामशाह स्काउट इकाईका व्वाइज/ग्रल्स स्काउंट तथा रोभर रेञ्जर स्काउट विद्यार्थीहरुले आफूले सिकेका सीप प्रयोग गरि आफ्ना अभिभावक र अतिथिहरुको बीचमा गरिरहेको एउटा प्रदर्शनी मात्र थियो भने सोही क्रममा विद्यालयमा प्रमुख अतिथिको आगमन हुँदा एक स्काउटले सुपरम्यान जम्पबाट फुलमाला लिएर आई प्रमुख अतिथिलाई लगाई दिएको थियो त्यसको केही समयपछि मञ्चमा प्रमुख अतिथिबाट दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिरहदा अर्को स्काउटबाट कार्यक्रम स्थलको वरिपरि अभिभावकहरुमाथि सुपरम्यान जम्पबाट पुष्पवृष्टि गरिएको थियो। स्काउटले गरिएका माथिका दुवै काम प्रमुख अतिथि वा अन्य अतिथिले तथा अन्य कुनै व्यक्ति एवं राजनितिक दल विशेषले गर्न लगाएको थिएन र यो गरेवापत कुनै अभीष्ट राखिएको पनि छैन । स्काउटहरुले अतिथि र अभिभावकहरुको स्वागतमा आफूले सिकेका कला कौशल प्रदर्शन गरेका मात्र थिए । तसर्थ विद्यार्थीको सीप, कला, प्रतिभा र साहसको मानमर्दन हुने गरि जसरी सामाजिक सञ्जालहरुमा आईरहेको छ, त्यसरी नबुझ्न हुन, नकारात्मक टिकाटिप्पणी नगरीदिनु हुन आम नागरिक, सञ्चार माध्याम, पत्रकार लगायत सम्बन्धित सबै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा हार्दिक अनुरोध गर्दछु।

स्काउटको नियमित गतिविधि अन्तर्गत यस्ता प्रकारका कार्यहरु विगतमा पनि गरिदै आएका थिए आगामी दिनहरुमा पनि हुनेछन् जहाँसम्म खतराको कुरा छ स्काउटको कुनै पनि काम बलियो भरपर्दो र जोखिमविहिन हुने कुराको विश्वास दिलाउन चाहन्छु ।

अन्तमाः घटनाको सत्य तथ्य नबुझीकन सामाजिक सञ्जालमा गरिएको पोष्ट, शेयर र टिका टिप्पणीले बालबालिकाको कोमल हृदयमा गम्भिर आँच पुग्ने भएकोले वास्तविकता नबुझी बहकाउको भरमा यस प्रकारको कार्य नगरिदिनु हुन र बालबालिकाहरुको साहसि कार्यको कदर गरिदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु । धन्यवाद !
पृथ्वीबहादुर गुरुङ
स्थानीय प्रमुख आयुक्त

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page