यूके र दुबई पठाइदिन्छु भन्दै ८५ लाख ठग्ने तनहुँका दुई जना पक्राउ
वैदेशिक रोजगारीका लागि यूके र दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तनहुँका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बन्दिपुर गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २३ वर्षीया सन्जिता गुरूङ र भिमाद नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ५० वर्षीय रेशम राज लामिछाने रहेका छन्।

पक्राउ परेकामध्ये सन्जिताले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६० लाख ८९ हजार रूपैयाँ र रेशम राजले दुबई पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट २४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्जितालाई काठमाडौं न्यूरोडबाट र रेशम राजलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
























