दमाैलीमा आजबाट महिला उद्यमी व्यापार मेला सुरु हुँदै:
महिला उद्यमी संघ नेपाल तनहुँकाे आयाेजनामा ११४औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर आज फागुन २५ देखि २७ गतेसम्म व्यास –३ दमाैली स्थित खुल्ला चौरमा महिला उद्यमी व्यापार मेला आयोजना सुरु हुँदैछ ।

संघले त्यसको लागि सम्पुर्ण तयारी पुुरा भएको जनाएको छ ।
महिला उद्यमीद्वारा उत्पादित र महिला संलग्न रहेको व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले दमौलीमा ३ दिने महिला उद्यमी व्यापार प्रदर्शन तथा प्रवद्र्धन मेला आयोजना गर्न लागेको हाे ।

महिला उद्यमी संघ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लले मेलामा हस्तकलाका सामान, ढाका तथा घरबुनाका कपडा ,जैविक खाद्य पदार्थ , स्थानीय खानेकुराका परिकार ,काठजन्य वस्तु , जडीबुटी , कृषिजन्य उत्पादन , गरगहना, सजावटका सामन लगायतका करिब ५० वटा स्टल रहने जानकारी दिइन् ।
निशुल्क स्टल राख्ने अवसर प्रदान गरिने मेलामा दुर दराजमा रहेका महिला व्यवसायीहरुको उत्पादनको बजारीकरण गर्न तथा साना तथा घरेलु व्यवसायलाई प्रोत्साहन र प्रवद्र्धनमा सहयोग पुग्ने आयाेजकले विश्वास गरेको छ ।
स्थानीय उत्पादन मात्र विक्री वितरण र प्रदर्शन गरिने भएकाले पनि यो मेला अन्यको तुलनामा फरक हुने आयोजकको दावि छ । लोप हुदै गएका रैथाने उत्पादनको प्रदर्शन गरिने र त्यसले नयाँ पुस्तालाई घरेलु उत्पादन बारे जानकारी गराउन मद्दत पुग्ने आयाेजककाे भनाइ छ ।
महिलाहरुले परम्परागत सीप र कलालाई प्रयोग गरि उत्पादन गरेका सामग्रीहरु गुणस्तरीय हुदाँहुदै पनि बजारीकरणमा समस्या भोग्नु परेको धेरै गुनासा आइरहेको अवस्थालाई मध्यनजर गरि स्थानीय पालिकासँग समन्वय गरि मेला आयोजना गरिएको अध्यक्ष मल्लले बताइन् । उक्त मेलाका लागि व्यास नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
मेलालाई तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी महासंघ नेपालले संरक्षकत्व प्रदान गरेकाे छ भने तनहुँ उद्योग वाणिज्य संघले समन्वय गर्नेछ । मेलाको सहआयोजकमा तनहुँ उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समिति, महिला उद्यमी संघ,दमौली बजार इकाई, डुम्रे बजार इकाई, बन्दीपुर इकाई समिति र शुक्लागण्डकी इकाई समिति रहेका छन् ।
मेलामा तनहुँका चेलिहरू ख्यातिप्राप्त गायिका प्रिति आले र कला लम्साल लगायतका स्थानीय कलाकारहरूकाे सांगितिक प्रस्तुती रहने छ । महिलाहरुको आर्थिक, सामाजिक र कानुनी हक स्थापित गर्न चेतनामुलक कार्यक्रम, वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम पनि मेलामा समेटिने महिला उद्यमी संघ नेपाल तनहुँकी महासचिव सरु श्रेष्ठले जानकारी दिइन्। मेला सुरु हुनु अगाडि उद्यमिहरूले व्यानर सहित बजार परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।





































