प्राकृतिक उपचार पद्धति बाट राेग सन्चो बनाउने रजहरकाे प्राकृतिक चिकित्सालय:

नवलपुरकाे रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा बिरामीकाे भिड बढ्दै गएको छ । पछिल्लो समय प्राकृतिक उपचार पद्धतिमा मानिसको विश्वास बढ्दै गएपछि बिरामीहरूकाे भिड बढेको हाे ।
यहाँकाे उपचारका लागि पेटमा नर्मल माटोपट्टी, आँखापट्टी, एनिमा, पोटली र तातो पानीमा खुट्टा डुबाउने , कम्मरमा तातो माटोसेक, हटवाटर ब्यागले ढाडसेक र कम्मरमा स्टिमसेकका लागि उपचार हुने गर्दछ ।

बिरामीलाई सुरुमै उपचारपद्धति पत्यारै नलाग्ने खालको देखिन्छ । लगभग सबै प्रकारका बिरामीको लागि उस्तै उस्तै प्रकारको उपचार पद्धति हुन्छ । थप उपचारमा पूर्ण शरीर मालिस, कमरपट्टी, पाउडर मसाज , भाइभर मसाज , स्टिम बाथ र फिजियोथेरापीको उपचार हुने गर्दछ ।

विशेषत: पञ्चतत्त्व (पृथ्वी, जल, वायु, अग्नि र आकाश) ले उपचार गर्ने पद्धतिलाई नै प्राकृतिक उपचार पद्धति भनिन्छ । रोगको कारण शरीरमा फोहोर जम्मा भएर हो , फोहोर सफा गर्न सबैका लागि एकै प्रकारको उपचार पद्धतिले मदत गर्दछ भन्ने विश्वास प्राकृतिक चिकित्सालयमा दिलाइन्छ ।
टाउको दुख्ने (माइग्रेन), पिनास , शरिरको कुनैपनि दुखाई , डिप्रेसन ,  टन्सीलाइटिस ,  मोटोपन ,  मधुमेह
, एलर्जी , कोलाइटिस , पेटको अल्सर , कब्जीयत , मृगौला सम्बन्धि समस्या ,महिला सम्बन्धि समस्या
,छाला सम्बन्धि सम्पूर्ण समस्या , थाइराइड सम्बन्धि समस्या , सवै प्रकारका बाथ ,मुटुको ब्लकेज ,पायल्स , पुरुषग्रन्थी बढ्नु (प्रोष्टोमगाली),दम , ढाड कम्मर दुखेको , नशा च्यापिएको, जन्डिस ,कलेजोमा बोसो जमेको , पत्थरी , उच्च एवं निम्न रक्तचाप लगायतकाे उपचार चिकित्सालयमा हुने गर्दछ ।

प्राकृतिक उपचारमा आउने महिला र पुरुषका लागि यहाँ छुट्टाछुट्टै उपचार कक्ष छन् । उपचार कक्षमा ठुलो कराहीमा माटो पकाइरहेको, किटलीमा पानी उम्लिरहेको, माटोको कराहीमा थोरै तेल राखेर एउटा कपडाको टालोमा विभिन्न जडिबुटी राखेको पोको सेकाइरहेको देख्न सकिन्छ । त्यही चिजहरू बाट नैँ यहाँ दैनिक उपचार हुने गर्दछ । माेटाेपना घटाउन , ग्यास्ट्रिक निर्मुल पार्न मात्रै हाेइन यहाँ राेग नैँ नलाग्दै शरीर सर्भिसिङ गर्न यहाँ धेरै मानिस आउने गर्दछन् ।

चिकित्सालयले विशेष गरी औषधीय उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गर्दै आएकाे छ । हाल यस चिकित्सालयमा दैनिक १०० बिरामीलाई आवासीय रुपमा उपचार सेवा दिनसक्ने व्यवस्था रहेकाे छ ।

बिरामीका लागि दूधका लागि गौपालन , माैरिपालन , अर्गानिक तरकारी र जडीबुटी खेती चिकित्सालयले नै गरेको छ । विसं २०६५ बाट उपचार सेवा प्रारम्भ गरेको चिकित्सालयमा देशका विभिन्न स्थानबाट र छिमेकी देश विदेश समेत बाट उपचार सेवा लिन आउने गर्दछन ।

राजनीतिक दलका नेताहरू कृष्णबहादुर महरा देखि कलाकारहरू पशुपति शर्मा , रमेश राज भट्टराई , जीवन शर्मा , अम्बर बिरहि गुरूङ , अभिनेतृ मनिसा कोइराला लगायतले यहाँ उपचार सफल गरिसकेका छन् ।

उपचारको क्रममा रहेका पुर्व मन्त्री एवम् नेकपा एमाले बागमती प्रदेशका उपाध्यक्ष दावा लामाले दुईपटक चिकित्सालयमा पुगेर शरीरको सर्भिसिङ गराएकाे बताए । अहिले मलाई ढाड दुखेको र कब्जियत भएको समस्याले आएकाे हाे उनले भने ।

पुर्वमन्त्रि लामाले खानपानको सभ्यता र संस्कार सिकाइने ठाउँ रजहरकाे चिकित्सालय रहेको बताएका छन् । बस्ने वातावरण र उपचार पद्धति यस्तो छ कि बिरामी भएर होइन नहुँदै जाने ठाउँ रहेछ उनले भने, ‘थोत्रो मोटरसाइकल सर्भिसिङ गरेर नयाँ बनाए जस्तै शरीरको पनि सर्भिसिङ गरिँदो रहेछ।’ 

उपचार पद्धतिबाट प्रभावित बनेका अर्का बिरामी मकवानपुर स्थित मनहरी ९ ज्यामिरे बाट आएका केन्द्र विकले ढाडकाे नशा च्यापिएर लामो समय दुख पाएपछि रजहरकाे चिकित्सालयमा उपचार गर्न आएकाे बताए । मलाई जुन अस्पतालमा गएपनि अप्रेसन गर्न पर्छ भनिएकाे थियो, तर मैले अप्रेसन गर्न मानिन र यहाँ आइ उपचार गर्दा सन्चो भयो ,खुसी हुँदै उनले भने । ह्यिलचियरमा बसेर आएकाे थिएँ , उपचार गरेको २२ दिनमा सन्चो भइ घर फर्कँदै छु विकले भने ।

अधिकांश अस्पताल धाउँदा पाएको सास्ती र औषधिले शिथिल बनाएको शरीर लिएर सामुदायिक प्राकृतिक चिकित्सालय आउने अस्पतालका डाक्टर आजाद पुरिले बताइन् ।

मेडिकलको औषधि महँगोमात्रै होइन, स्वास्थ्य नै कमजोर बनाएको गुनासो गर्नेहरू रजहर पुगेपछि जुनी फेरेको महसुस गर्दछन्। भए जानेका अस्पताल धाउँदा केही नभएपछि अन्तिममा बिरामी औषधिको ठेली बोकेर रजहर पुग्छन्। अस्पतालका सहायक निर्देशक समेत रहेकि डाक्टर पुरिले भनिन् ।

जीवन जिउने तरिका नजान्दा महँगो शुल्कमा प्रयोग गरेको औषधि सम्झिँदै धेरैले पछुतो मान्छन्। विभिन्न रोग बोकेर पुगेका बिरामी फर्कने बेला खुसीको सीमा नै हुँदैन। तनाव व्यवस्थापन, खानापान स्वस्थकर र समयमा नहुने, व्यायामको कमीका कारण स्वास्थ्य बिग्रिएपछि मात्रै आउने गरेको डा.पुरी बताउँछिन्। उनले भने, ‘८० प्रतिशत रोग शरीर र मनको कारणले लाग्छ। यहाँ उपचार गरेर जाने हो भने रोग निको मात्रै होइन, कार्यक्षमता पनि वृद्धि हुन्छ।’
प्राकृतिक उपचार पद्धतिले जीवनशैली परिवर्तन गरेर शरीरभित्र रहेको फोहोर र विकार निकाल्ने हुँदा शरीर स्वस्थ हुने डाक्टर आजाद पुरी बताउछिन् । थेरापी, माटो चिकित्सा, पानी चिकित्सा, भोजन चिकित्साको माध्यमबाट उपचार हुने यहाँ यी बाहेक आवश्यक परेकालार्ई फिजियोथेरापी, अक्युपन्चरबाट समेत बाट पनि उपचार हुने चिकित्सालयले बताएको छ ।

रोगको उपचारमा रजहरको प्राकृतिक चिकित्सालय नमुनाको छ। आहारविहारमा ख्याल गर्दै योग र प्राकृतिक पद्धतिमा बिरामीलार्ई निको पारिन्छ ।

उपचारसँगै रोगभन्दा खराब जीवनशैली भन्ने थाहा पाएर जान्छन्। प्राकृतिक चिकित्सालयले के खाने ? कति खाने ? कसरी खाने ? जस्ता कुरा सिकाउँछ। तनावमुक्त जीवन कसरी जिउने ? छोटो समयमा शारीरिक र मानिसक रूपमा कसरी आराम गर्ने ? उमेर समयअनुसार व्यायाम वा योगको अभ्यास, स्वस्थ रहनका लागि अपनाउनुपर्ने अत्यावश्यक जीवनशैलीको कुरा प्राकृतिक चिकित्सालयमा सिकाइन्छ। चिकित्सालयभन्दा पनि जीवनशैली सिकाउने पाठशालाको रूपमा चिनिएको छ यो थलो। अस्पतालमा डुलेर निराश बनेर आउने बिरामीलाई सुरुमा नै निको हुने हौसला दिइन्छ। प्राकृतिक जडीबुटीको सहायतामा उपचार गर्ने गरेको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए। 

‘सर्जरीबाहेक जटिल भनिएका रोगका बिरामीलार्ई पनि बचाउन सकिन्छ। प्राकृतिक चिकित्सा र योग यस्तो विधा हो जसमा प्रतिरक्षात्मक, उपचारात्मक र निदानात्मक तीनवटै आयाममा उपचार गर्ने सिद्धान्त उपयोग हुन्छ।’ अस्पतालका निर्देशक डाक्टर विनोद पाैडेलले भने ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page