म्याग्देमा भएको फुटबलको सेमिफाइनलमा शुक्ला र म्याग्दे तथा दाेर्दी र बन्दिपुर भिड्ने
तनहुँको म्याग्दे गाउँपालिकाकाे आयाेजनामा गण्डकी प्रदेशको पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारकाे पहिलो सेमीफाइनल खेल म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका बिच हुने भएको छ । यस्तै भाेली मंगलबार नैँ हुने अर्को दाेस्राे सेमिफाइनल खेल बन्दिपुर गाउँपालिका र दोर्दी गाउँपालिका बिच हुने भएको छ ।

प्रतियोगितामा आजको पहिलो खेल बन्दिपुर गाउँपालिका र अन्नपूर्ण गाउँपालिका बिच भएकोमा
बन्दिपुर ३-० ले विजयी भएको छ भने दोस्रो खेल दोर्दी गाउँपालिका र व्यास नगरपालिकाबिच भएकोमा
दोर्दी गाउँपालिका १-० ले विजयी भएको म्याग्दे गापा शिक्षा शाखा प्रमुख बिष्णु केसीले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार रु तीन लाख रहेको छ भने द्वितीय पुरस्कार रु एक लाख ५० हजार तथा विजेता र उपविजेता टिम र खेलाडीलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ । साथै सेमिफाइनल पुग्ने दुई टिमलाई रु १५÷१५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार र सेमिफाइनल पछिका हरेक खेलका म्यान अफ द म्याच खेलाडीलाई जनही रु पाँच हजार नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
नेपालको लोकप्रिय खेल फुटबलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भूमिका रुपमा परिचित गराउन तथा खेलकुदको माध्यमबाट म्याग्देको थप पहिचान गराउन उक्त प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
‘म्याग्देको पर्यटन विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन १६ देखि वडा नम्बर ५ को छाङपाटन खेलमैदानमा प्रतियोगिता भएको हाे ।
























