म्याग्देमा व्यवसायीक अभिमुखीकरण कार्यक्रम सम्पन्न

तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाईको आयोजना र म्याग्दे गाउँपालिकाकाे सहयोगमा स्थानीय तहको कर,राजश्व ,व्यवसाय दर्ता तथा सूचीकरण ,खाद्य सुरक्षा र गुणस्तर विषयक प्रशिक्षण तथा व्यवसायिक अभिमुखीकरण कार्यक्रम म्याग्देमा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि , खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ज्याेती आचार्य लगायतले स्थानीय तहको कर, राजश्व, व्यवसाय दर्ता तथा सुचिकरण, खाद्य सुरक्षा र गुणस्तर व्यवस्थापन विषयमा प्रशिक्षण दिएका थिए ।

त्यसअघि कार्यक्रमकाे उद्घाटन गर्दै पुर्व मन्त्री एवम् सांसद शंकर भण्डारीले व्यवसायीहरुलाई व्यापार व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।
व्यवसायिक वातारण सिर्जना नहुँदा सयौं व्यवसायीहरु विस्थापित हुनुपर्ने अवस्था बन्दै गईरहेको भन्दै उनलेे
व्यवसायिक वातावरण सिर्जना गर्ने दायित्व तीनै तहका सरकारको भएको बताए । त्यसको लागि केन्द्र तहबाट आफूले निर्वाह गर्नुपर्ने भूमिका आफूले निर्वाह गर्ने र स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिका स्थानीय तहका प्रतिनिधिले गर्नुपर्ने उनलेे बताए ।
मुलुकको राजनीति अस्थिर हुँदा व्यवसायिक क्षेत्रमा समेत ठूलो असर परेको हुँदा स्थिरता कायम गर्नुपर्नेमा समेत सांसद भण्डारीेले जोड दिएका थिए । राजनीतिक स्थिरता कायम गर्न मुलुकका सबै शक्तिहरुको सम्मान गर्नुपर्ने सांसद भण्डारीको भनाई थियो । अहिले सरकारले गरेको काम प्रति धेरै जनतामा आक्रोश र निराशा छाएको भन्दै भण्डारीले कसैलाई गाली गर्नु भन्दा पनि सरकारले काम गरेर जनतालाई जवाफ दिनुपर्ने बताए । जनतामा भएको निराशा र आक्रोस चिर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने सांसद भण्डारीकाे भनाइ छ ।
राजतन्त्र पुनस्थापनाको माग गर्दै चलेको सडक आन्दोलन प्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका भण्डारीले राजाबादीहरुले सडकमा उठाएको आवाज सम्बोधन गर्नुपर्ने बताए । भण्डारीले सडकमा उठेको आवाजलाई सम्बोधन गर्नुको विकल्प नभएको बताए ।
बजार इकाईका सभापति सुन्दरमणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे लगायत विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुले बोलेका थिए।

उक्त कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाले व्यवसायमैत्री नीति निर्माण गरिएको बताए । गाउँपालिकाकाले व्यवसायमैत्री नीति निर्माण गरेको र व्यवसायीक सुरक्षाको प्रत्याभुति दिलाएपछि पछिल्लो समय म्याग्देमा ३१२ जना व्यवसायी सुचिकृत भई करको दायरामा आएको बताए । व्यवसायीहरुले गाउँपालिकाको अंगको रुपमा काम गर्नु पर्ने श्रेष्ठको भनाइ छ । गाउँपालिकामा आम्दानीको श्रोत बढ्यो भने नै विकास निर्माणको कामले गति लिने भन्दै अध्यक्ष श्रेष्ठले त्यसकारण सबै जना करको दायरामा आउनुपर्ने बताए ।
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तेजकुमार मल्ल, वडा नम्बर ७ का अध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक बसन्तकुमार श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष शिवबहादुर रानाभाट लगायतले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रमको सन्चालन सचिव राजिव श्रेष्ठले र स्वागत उपाध्यक्ष सुरेन्द्र अधिकारीले गरेका थिए ।
























