तनहुँमा सबैभन्दा धेरै क्षयरोगका बिरामी व्यासमा

तनहुँमा सबैभन्दा धेरै क्षयरोगका बिरामी व्यासमा

जिल्लाका दश पालिकामध्ये सबैभन्दा धेरै व्यास नगरपालिकामा क्षयरोगका बिरामी फेला परेका छन् ।व्यास नगरपालिकामा ५३, शुक्लागण्डकी नगरपालिकामा २३,भानु नगरपालिकामा ११ जना, भिमाद नगरपालिकामा ६,म्याग्दे गाउँपालिकामा ११, बन्दीपुर गाउँपालिकामा १९, आँबुखैरेनी गाउँपालिकामा २०, देवघाट गाउँपालिकामा १५, ऋषिङ गाउँपालिकामा ७ र घिरिङ गाउँपालिकामा १४ जना क्षयरोगका बिरामी रहेको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका ल्याब टेक्निसियन दिपक श्रेष्ठले बताए । साेमबार कार्यालयमा आयाेजित पत्रकार सँगकाे अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले चालु वर्ष २०८१/८२ को चैत १० गतेसम्म एक सय ७९ जनालाई क्षयरोग सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यस्तै क्षयरोगबाट चालु आर्थिक वर्षको चैत सम्ममा १५ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

‘‘आर्टिफिसियल इन्टिलिजेन्स (एआई) एक्सरे मेसिनद्वारा जिल्लाको ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र बन्दिपुर गाउँपालिकामा क्षयरोग परीक्षण गरिएकाेमा परीक्षणमा ऋषिङ गाउँपालिकामा दुई जना , घिरिङ गाउँपालिकामा दुई जना र बन्दिपुर गाउँपालिकामा तीन जना क्षयरोगका विरामीहरु पत्ता लागेको छ ।

यहि चैतको १४ र १५ गते भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा एआई एक्सरे मेसिनद्वारा क्षयरोग परीक्षण गरिने ल्याब टेक्निसियन श्रेष्ठले जानकारी दिए ।
समयमै रोग पत्ता लागेर नियमित औषधी उपचार गरेमा क्षयरोग निको हुने भन्दै श्रेष्ठले तनहुँमा क्षयरोग निको हुने दर ८७ दशमलव ५ प्रतिशत रहेको बताए ।

छ महिना नियमित औषधी सेवन गरे क्षयरोग निको हुने बताइएको छ । क्षयरोगीको उपचारका लागि जिल्लामा एक सय ११ उपचार केन्द्र छन् । अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको उनले बताए ।

“क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ”, ल्याब टेक्निसियन श्रेष्ठले भने, “समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी रोग लुकाएर बस्न बाध्य छन् ।”
जिल्लाको तीन वटा पालिकालाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष्यका साथ अभियान सुरु भए अनुसार ‘‘भानु नगरपालिका, व्यास नगरपालिका र म्याग्दे गाउँपालेकालाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष राखिएको र त्यसका लागि ती क्षेत्रमा परीक्षणको दायरा पनि बढाइएको छ ।
एक जना क्षयरोगीले १५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने भएकाले जोखिम भयावह हुनसक्ने ल्याब टेक्निसियन श्रेष्ठले बताए । 
श्रेष्ठका अनुसार कुपोषण भएका बालबालिका, ज्येष्ठ नागरिक, समूहमा बस्नेहरु समेतमा क्षयरोगको सङ्क्रमण बढी हुने गर्दछ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाइँदै आएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page