बन्दीपुरकाे मुकुन्देश्वरीमा चैते दसैं मेला लाग्ने

पहाडकि रानी उपनामले परिचित तनहुँकाे बन्दीपुर स्थित वडा नं २ मा रहेको ऐतिहासिक पर्यटकीय स्थल मुकुन्देश्वरीको प्रवर्द्धन गर्न यही चैत २३ गते चैते दशैं मेला लाग्ने भएको छ। समग्र बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त मेला आयोजना गरिएको
मुकुन्देश्वरी मन्दीर दरवार निर्माण समितिका संयोजक सुकुमलाल गुरुङले बताए ।
ऐतिहासिक पर्यटकीय स्थल मणिमुकुन्देश्वरीको प्रचारप्रसार गर्ने उद्देश्यले तथा बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सफल पार्ने उद्देश्यले उक्त मेला आयोजना गर्न लागिएको गुरूङले जानकारी दिए ।

मेला सफल पार्न बन्दीपुर गाउँपालिका र मुकुन्देश्वरी मन्दिर तथा दरबार निर्माण संरक्षण समितिको आयोजनामा केही दिन अगाडि बन्दीपुरमा पत्रकार सम्मेलन समेत आयाेजना गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले मुकुन्देश्वरी बन्दीपुरकाे सिरानीमा रहेको हिरा भएको बताए । त्यो हिरा बुझ्न नसक्दा बाहिर ल्याउन केही ढिलाइ भएको बताए । एतिहासिक महत्त्व बाेकेकाे ठाउँलाई अगाडि बढाउन र त्यहाँको बिकासकाे लागि डिपिआर तयार भइरहेको र मन्दिरको काम समेत अगाडि बढिरहेको उनलेे बताए । उनलेे सबैलाई बन्दीपुर भ्रमणको निम्ता समेत दिए ।

बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय संयोजक वैंश गुरुङले भ्रमण वर्षलाई सफल पार्न प्रत्येक महिना फरक फरक कार्यक्रमहरु सञ्चालन गरिएको बताउँदै ऐतिहासिक मणिमुकुन्देश्वरी मन्दिरको ऐतिहसिक महत्वलाई प्रचार प्रसार गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।कार्यक्रममा रिस्ति बिकास समाजका अध्यक्ष नविन पौडेल, वडा नं २ का वडा अध्यक्ष तिलकबहादुर कुंवर, मन्दीर निर्माण संरक्षण समितिका सल्लाहकार रेशम गुरुङ, तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाईका सभापति घनश्याम उपाध्याय, रेवान बन्दीपुरका अध्यक्ष जितेन्द्र भूमी, होम स्टे महासंघ बन्दीपुरका अध्यक्ष गिता लम्साल लगायतले ऐतिहासिक मणिकुकुन्देश्वरीको विकासमा एक भएर लाग्नु पर्ने बताए । कार्यक्रम मुकुन्देश्वरी मन्दीर दरवार निर्माण समितिका संयोजक सुकुमलाल गुरुङ्को सभापतित्वमा सम्पन्न भएको थियो
























