व्यासका अध्येता काशीनाथको ‘अशून्यम्’ काठमाडौंमा लोकार्पण:
व्यासका अध्येता साहित्यकार काशीनाथ न्यौपानेद्वारा लिखित दार्शनिक उपन्यास ‘अशून्यम्’को काठमाडौंमा लोकार्पण गरिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको लोकार्पणमा बोल्दै अशून्यम् उपन्यासका लेखक न्यौपानेले आफूले पहाड, नदीनाला हेर्दा ,ब्रह्माण्डको उत्पत्ति, जन्म,उमेरावस्था,मृत्युका बारेमा पुस्तकमा चर्चा गरेको बताए ।उनले यो जगत ब्रह्माण्ड अशून्यम्बाट सुरु भएको निष्कर्ष सहित पुस्तक लेखेको बताए ।

पुस्त्कबारे टिप्पणी गर्दै वरिष्ठ साहित्यकार तथा कूटनीतिज्ञ प्राडा जयराज आचार्यले तनहुँको दमौलीमा चारवेद र अठार पुराणका रचयिता वेद व्यासको अठाइसौं अवतार श्रीकृष्ण द्वैपायन व्यासको जन्म भएको भन्दै व्यासलाई चिनाउने व्यासका अध्येता काशीनाथ न्यौपानेलाई पनि तनहुँले सम्झनु पर्ने बताए।

आचार्यले अशून्ययम् पुस्तकले चिन्तन गर्ने प्रेरणा दिने , शून्यमा समाहित हुने आधुनिक वैज्ञानिकको सृष्टि प्रतीको धारणा समेटिएको पुस्तक रहेको बताए। अर्का टिप्पणीकार डा. पद्मप्रसाद देवकोटाले अशून्यम् ले आफूलाई आकर्षित गरेको काल्पनिक सत्यतिर लम्किएको अनुभव रहेको बताए।
अशून्यम् बारे टिप्पणी गर्दै प्राध्यापक डाक्टर सर्वराज आचार्यले लेखकमा गहिरो चिन्तन कसरी आयो भन्ने कुरा महत्वपूर्ण रहेको बताए। आचार्यले न्यौपानेले दमौलीमा बसेर पुस्तक मार्फत वेदव्यास मार्फत तनहुँलाई विश्वमाझ चिनाउने काम गरेको भन्दै आध्यात्मिक दर्शन भित्रको चिन्तनमा डुबेर न्यौपानेले अशून्यम् प्रस्तुत गरेको बताएका थिए ।
कार्यक्रममा साहित्यकार डा. प्रभा कैनी , बुकहिलका अध्यक्ष भूपेन्द्र खड्का , युवा अभियन्ता अपार पौडेल, पत्रकार पवन पौडेलले पुस्तकको राजधानीमा तनहुँ र देशका बौद्धिकमाझ लोकार्पण गर्न पाउँदा खुशी लागेको बताएका थिए । दर्शन र व्यासका विविध प्रसङ्ग समेटिएको पुस्तकको मूल्य रु ३ सय राखिएको छ । व्यासका अध्येता न्यौपानेको व्यासबारे लेखिएको पुस्तक व्यास नगरपालिकाको पाठ्यक्रममा समावेश गरिएको छ ।




































