परासर कलेजले गर्यो कक्षा १२ र स्नातक तह अन्तिम बर्षका विद्यार्थीको बिदाइ:
१५ चैत, तनहुँ ।
तनहुँकाे व्यास ४ दमाैलीमा रहेको परासर कलेजले कक्षा १२ र स्नातक तह अन्तिम बर्षमा अध्ययन गर्ने विद्यार्थीहरुको बिदाइ गरेको छ । बिहिवार कलेजले कक्षा १२ र स्नातक तह बिएड र बिबिएस चौथो बर्षमा अध्ययन गर्ने विद्यार्थीलाई एक कार्यक्रमका बिच बिदाइ गरेको हो।



बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तीरमण वाग्लेले विद्यार्थीले रमाइलो भन्दा पनि सिकाइ तिर बढी जोड दिनुपर्ने बताए । अहिले ११ मा पढ्ने भाइबहिनीले दाइदिदीहरुलाई बिदाइ कार्यक्रम राखेर राम्रो गर्नु भएको छ । कार्यक्रम राम्रो र रमाइलो पनि भएको छ । तर रमाइलो गरेर मात्र हुदैन पढाइलाई पनि सँगसँगै लैजानुपर्छ, उनले भने । सिनियर दाइ दिदी हरुप्रती भाइबहिनीले देखाएको माया र सद्भाबप्रति वाग्लेले धन्यवाद दिएका थिए ।
मुलुकलाई प्रगतिको उचाईमा पुर्याउन शिक्षाको महत्त्वपूर्ण भुमिका भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने कलेजका अध्यक्ष सुर्यचन्द्र हड्खलेले बताए । उनले शिक्षाको गुणस्तर सुधार गर्दै लैजानुपर्नेमा जोड दिए ।

बिदाइ कार्यक्रममा विद्यार्थीलाई अध्यक्ष सुर्यचन्द्र हड्खले र कलेज प्रमुख अमृत भण्डारीले मायाको चिनो दिएर बिदाइ गर्नुका साथै उज्ज्वल भबिस्यको लागि शुभकामना दिएको सहायक कलेज प्रमुख मीन बहादुर कार्कीले जानकारी दिए । कार्यक्रममा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो भने विद्यार्थीले गित गाएर नाचगानको पनि भरपुर मनोरंजन लिएका थिए ।
विद्यार्थीलाई प्रोत्साहन र उत्प्रेरित गर्न पनि प्रत्येक बर्ष बिदाइको कार्यक्रम गरिंदै आएको कलेज प्रमुख अमृत भण्डारीले बताए । कक्षा ११ कि विद्यार्थी अपेक्षा पन्तको सभापतित्वमा फेरि भेटौला एबम बिदाइ कार्यक्रम गरिएको हो ।




































