शारीरिक अपाङ्गता भएकी गुणादीकी २० वर्षीया नवीनालाई प्रजिअ ले घरमै दिए नागरिकता

जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता प्राप्त गरेकी छन् ।
म्याग्दे गाउँपालिका–१ गुणादीकी नवीनालाई घरमै पुगेर प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नागरिकता उपलब्ध गराएका हुन् । २०६२ माघ ११ गते जन्मेकी उनलेे विसं २०६८ मा आमा गुमाएकी थिइन् । बुबा पहिचान नभएकी नवीनालाई गाउँपालिकाले यसअघि नै अपाङ्गता भएको रातो कार्ड उपलब्ध गराइसकेको थियो । तर उनको नागरिकताको प्रमाणपत्र नहुँदा अपाङ्गता भत्ता भने पाउनबाट वञ्चितभएकी थिइन् ।
उनको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयबाट नै तयार गरी औठाछाप लगाउन मात्र बाँकी राखिएको थियो ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, “ अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नबीनालाई नागरिकता दियौँ ।” उनले यस्ता कार्यले पीडितहरूको परिवारमा सरकारप्रतिको भरोसा र सकारात्मक धारणा विकास भएर जाने उल्लेख गरे । उक्त अवसरमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, वडा नं १ का वडाध्यक्ष मणिभद्र वाग्लेलगायतको उपस्थिति थियो ।
मातृबात्सल्य नपाइएकी नवीनालाई ७७ वर्षीया हजुरबुबा बामदेव खनालले पालनपोषण गर्दै आएका छन् ।

























