म्याग्दे ७ काे माझीलाङ लाई काेदाेकाे पकेट क्षेत्र बनाइने

म्याग्दे ७ काे माझीलाङ लाई काेदाेकाे पकेट क्षेत्र बनाइने

तनहुँको म्याग्दे गाउँपालिकाले राष्ट्रिय कोदो दिवस भब्य रूपले मनाएको छ । कोदो उत्पादनमा कृषकहरूलाई प्रोत्साहन गर्न गाउँपालिकाले वडा नं. ७ मा पकेट क्षेत्र निर्धारण गरी प्रथम राष्ट्रिय कोदो दिवस–२०८२ का अवसरमा कृषकको बारीमा कोदो रोपाई गरी मनाएको हाे । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष तथा जनप्रतिनिधि र कृषकहरुले सामुहिक रुपमा बारी खनेर कोदोको विऊ रोप्दा त्यहाँको माहाेल छुट्टै बनेको थियो ।

स्वास्थ्यको दृष्ट्रिकोणमा अत्यन्त लाभदायी मानिने कोदो प्रबद्र्धनमा गाउँपालिकाले कार्यक्रम अगाडि बढाएकाे हाे ।
सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरेसँगै म्याग्देले कोदो खेतीको संरक्षण र प्रवर्द्धनका लागि गाउँ तहबाटै किसानहरू लाग्नुपर्छ भन्ने उद्धेश्यका साथ माझिलाङ गाउँमा काेदाे दिवस मनाएको हाे ।

विगतमा कोदोलाई हेयको दृष्टिले हेरिने गरेको र कोदोलाई गरिब, निमुखाको खान्कीको रुपमा लिने चलन भए पनि पछिल्लो सयम सहरी क्षेत्रमा पनि कोदोको माग उच्च रुपमा बढ्न थालेपछि म्याग्देमा यसको उत्पादन बढाउन गाउँपालिका लागेको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । काेदाेकाे माग बढे पनि नेपालमा कोदोको उत्पादन भने घट्दै गएको अवस्थामा हामीले यसको प्रवर्द्धनकाे लागि काम अगाडि बढाएको उनको भनाइ छ । कार्यक्रममा स्वदेशमा उत्पादन घट्दा र माग भने बढ्दै जाँदा गत आर्थिक वर्षका ११ महिनामा मात्रै मुलुकमा पौने अर्ब रुपैयाँ बराबरको कोदो विदेशबाट आयात भएको तथ्यांक उल्लेख गरिएको थियो ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा ७१ करोड ८७ लाख ८४ हजार रुपियाँ बराबरको काेदो आयात भएको छ। 

११ महिनामा नेपालमा एक करोड ४३ लाख ५५ हजार १३६ केजी कोदो विदेशबाट आयात भएको छ । नेपालमा छिमेकी मुलुक भारत र चीनबाटा कोदो आयात हुने गरेको छ।

पछिल्लो समय कोदोबाट रोटी, ढिँडो जस्ता परम्परागत परिकार मात्रै होइन, बिस्कुट, मम लगायतका परिकारसमेत बनाउन थालिएको अधिकारीले बताए ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पहिला पहिला घरमा मुरिका मुरि काेदाे मकै उत्पादन हुने गरेको भए पनि पछिल्लो समय यसको उत्पादन घट्दै गएकाे बताए । रैथाने बालि काेदाेलाइ म्याग्देमा पकेट क्षेत्र घाेषणा गर्न र स्थानीयलाई आत्मनिर्भर बनाउन गाउँपालिका लागिपरेको उनलेे बताए ।
हामीले खाने बालि मध्ये सबैभन्दा बैज्ञानिक , अर्गानिक , स्वस्थकर बालिमा काेदाे रहेको जतासुकै बाट पुष्टि भएको श्रेष्ठले बताए । काेदाेकाे नियमित सेवनले क्यान्सर जस्तो राेगसँग समेत लड्न सक्ने क्षमता रहेको भन्दै उनलेे तर यसकाे उत्पादनमा सबै लाग्न छाेडेकाले यसको प्रवर्द्धनका लागि गाउँपालिका लागेको उनलेे बताए ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सरकारले घाेषणा गरेअनुसार
यसको महत्त्व , उपयोगीता , यसको प्रयाेग , काेदाे उत्पादनमा बिशेश पकेट क्षेत्र घाेषणा गरेर गाउँपालिकाले काेदाेकाे संरक्षण र प्रवर्द्धन गर्नपर्छ भनेर काम अगाडि बढाएको बताए । गाउँपालिकाले निति तथा कार्यक्रममा समेत पास गरिसकेको भन्दै घिमिरेले ९ प्रकारका काेदाे राेपिएकाे बताए । यसको महत्त्व , उत्पादन र संरक्षण एवम् बिक्री वितरणका लागि गाउँपालिकाले व्यवस्था मिलाउने उनलेे बताए ।

काेदाे जन्य परिकारकाे आहार , खाद्य सुरक्षा र स्वस्थ जिवनकाे आधार भन्ने मुल नाराका साथ
म्याग्दे ७ माझीलाङ स्थित माझीलाङ कृषि समुहकाे सक्रियतामा कार्यक्रम गरिएको हाे। म्याग्दे ७ का अध्यक्ष बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय नरबहादुर शाहीकाे जग्गामा २ खण्डी समुहको र १ खण्डी जग्गाधनिलाई उपलब्ध गराउने गरि काेदाे खेती सुरु गरिएको हाे ।
ज्वाइँ काेदाे , सेताे दुधे , सानो मुड्के लगायतका ९ जातका काेदाेहरू उक्त अवसरमा लगाइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page