ड्राइभिङ स्कुलका प्रशिक्षकहरूलाइ एक दिने ड्राइभिङ प्रशिक्षण तालिम
ड्राइभिङ स्कुल संघ नेपाल तनहुँको आयोजनामा शनिबार बन्दिपुर-४ बिमलनगरमा पहिलाे पटक जिल्ला भित्र रहेका ड्राइभिङ स्कुलका प्रशिक्षकहरुलाई एक दिने ड्राइभिङ प्रशिक्षण तालिम प्रदान गरिएको छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै यातायात कार्यालय बिमलनगरका प्रमुख गाेपाल वलीले प्रशिक्षकहरुकाे तालिमले ड्राइभिङ सेन्टरमा सिक्न आउने सेवाग्राहीलाई थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै राजश्व संकलनका हिसाबले महत्त्वपूर्ण कार्यालय यातायात क्षेत्रले गर्नु पर्ने कार्य ड्राइभिङ स्कूलले संचालन गरेकाेमा आभार ब्यक्त गरे ।

तनहूँ जिल्ला ट्राफिक कार्यालय प्रमुख कृष्ण बहादुर चन्दले पछिल्लो समय सवारी दुर्घटनामध्ये ८० प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीले हुने गरेको बताउदै दक्ष चालक उत्पादन गर्न ड्राइभिङ स्कुलले नै हेल्मेट लगाउन, सिटबेल्ट लगाउन बानी पार्नु पर्ने बताएका थिए।
कार्यक्रममा ड्राइभिङ स्कुल तनहुँ जिल्ला समितिका अध्यक्ष सुर्य प्रसाद पौडेलले सवारी लाईसेन्सकाे ट्रायल दिनु पूर्व ड्राइभिङ स्कूलले प्रशिक्षण गरेकाे प्रमाणपत्र लिनुपर्ने नियम भएमा सवारी चालकले पूर्ण रुपमा दक्ष भई दुर्घटनामा समेत कमि आउन सक्ने भन्दै साे नियम लागू गर्न सरकारकाे ध्यानाकर्षण गराए ।
कार्यक्रममा तनहूँमा सन्चालित ११ वटा ड्राइभिङ स्कुलको सहभागिता रहेको थियो।

























