हिसान तनहुँको अध्यक्षमा मिनबहादुर कार्की चयन

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) तनहुँको अध्यक्षमा मिनबहादुर कार्की चयन भएका छन् । बुधबार दमौलीमा सम्पन्न संघको प्रथम अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
नवगठित कार्य समितिको उपाध्यक्षमा हरिचन्द्र अधिकारी, सचिवमा सन्देश नारायण श्रेष्ठ र कोषाध्यक्षमा सुरेश पौडेल चयन भएका छन् । समितिकाे सदस्यहरूमा इन्जिनियर तारा भट्टराई, परशुराम अधिकारी र गोविन्दप्रसाद खनाल रहेका छन् भने सल्लाहकारमा तिलनाथ काफ्ले, पूर्ण थापा र प्रकाश खड्का चयन भएका छन् ।
निर्वाचन समिति संयोजक डोलाराज पाण्डे तथा सदस्यहरू सूर्यचन्द्र हड्खलले र प्रकाश खड्काले कार्य समिति सर्वसम्मत चयन भएको घोषणा गरेका थिए ।
अधिवेशनको उद्घाटन गर्दै हिसानका केन्द्रीय उपाध्यक्ष बाबुराम पन्तले निजी शिक्षण संस्थाले गुणस्तरीय शिक्षा, अनुशासन र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्नुपर्ने बताए । “शिक्षा केवल व्यापार होइन, यो राष्ट्र निर्माणको मेरुदण्ड हो,”उनलेे भने ।
कार्यक्रममा नव निर्वाचित कार्य समितिलाई केन्द्रीय उपाध्यक्ष पन्त, गण्डकी प्रदेश अध्यक्ष डा. रामजी शर्मा तथा वाराही कलेजका डाइरेक्टर शंकर नारायण श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए ।

नव निर्वाचित अध्यक्ष कार्कीले तनहुँमा शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सहकार्य र शिक्षक–विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


























