म्याग्दे गाउँपालिकामा सामुदायिक जीवन क्षमता प्रक्रिया र साल्ट दृष्टिकोणसम्बन्धी कार्यक्रम सम्पन्न

तनहुँ — म्याग्दे गाउँपालिकाको कार्यालयमा सामुदायिक जीवन क्षमता प्रक्रिया (कम्युनिटी लाइफ कम्पिटेन्स प्रोसेस) तथा साल्ट दृष्टिकोणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, विभिन्न शाखा प्रमुखहरू तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले सामुदायिक जीवन क्षमता प्रक्रिया कार्यक्रमको उद्देश्य, महत्त्व तथा प्रमुख गतिविधिहरूका बारेमा जानकारी गराएकी थिइन्। उनले समुदायले आफ्नै आवश्यकता पहिचान गरी प्राथमिकता निर्धारण गर्ने, निर्णय लिने, त्यसको स्वामित्व ग्रहण गर्ने र चरणबद्ध रूपमा कार्यान्वयन गर्दै अघि बढ्ने प्रक्रियाबारे सहभागीहरूलाई जानकारी दिइन्।
सामुदायिक जीवन क्षमता प्रक्रियालाई समुदायको सिकाइ चक्रका रूपमा प्रस्तुत गर्दै अनुभवबाट सिक्दै निरन्तर सुधार र प्रगतितर्फ अघि बढ्ने प्रक्रियाको महत्त्वमाथि कार्यक्रममा जोड दिइएको थियो।
त्यसैगरी, साल्ट दृष्टिकोण (सहयोग, कदर, सुन्ने र सिक्ने, बाँड्ने) प्रयोग गरी समुदायलाई आफ्ना चुनौतीहरूको स्वामित्व लिन सहयोग गर्ने विषयमा समेत छलफल गरिएको थियो। सहभागीहरूले ठूला र जटिल समस्याहरूलाई साना, स्पष्ट र व्यवस्थापनयोग्य चरणहरूमा विभाजन गरी समाधान गर्न सकिने धारणा साझा गरेका थिए।

कार्यक्रमले स्थानीय तहमा समुदाय–केन्द्रित विकास, जनसहभागिता तथा दिगो स्वामित्व अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



























