तनहुँकाे थर्पु नजिकै पिकअप भेन दुर्घटना, एक बालिकाको मृत्यु, एक घाइते
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडा स्थित कोलडाँडा–थर्पु भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मिति २०८२ साल १० महिना ११ गते बिहान करिब ७ः३० बजे कोलडाँडाबाट थर्पु तर्फ आउँदै गरेको ग ३ च ५८३५ नम्बरको पिकअप भेन अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो। दुर्घटनामा पिकअप भेनमा सवार चालकसहित तीन जना मध्ये दुई जना घाइते भएका थिए।
घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको थियो। उपचारका क्रममा म्याग्दे गाउँपालिका–४ कोलडाँडा निवासी बुद्दी बहादुर घर्तीकी १३ वर्षीया छोरी कोइस्का घर्तीको बिहान करिब ८ः४० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको टाउकोमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। मृतकको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको छ भने मुचुल्का प्रक्रिया बाँकी रहेको छ।
दुर्घटनामा सोही स्थानका १५ वर्षीय दिपसन घर्ती छाती र कुममा चोट लागी घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

पिकअप भेन चालक म्याग्दे गाउँपालिका–४ निवासी करिब ३० वर्षीय बसन्त घर्तीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।


























