अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा सत्यवती–बाराही र सत्यवती–मर्स्याङ्दी भिड्ने
हैरान्स क्लब दमैलीको आयोजनामा सम्पन्न चौथो अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने टिमहरू तय भएका छन्। छात्रतर्फ सत्यवती माध्यमिक विद्यालय र बाराही माध्यमिक विद्यालय फाइनलमा भिड्ने भएका छन् भने छात्रातर्फ सत्यवती माध्यमिक विद्यालय र मर्स्याङ्दी बालज्योति बोर्डिङ स्कुल फाइनलमा पुगेका छन्।
प्रतियोगितामा ९ वटा विद्यालयको सहभागिता रहेको थियो। छात्रतर्फ प्रथम हुने टिमले नगद १० हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद ७ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी छात्रातर्फ प्रथम हुने टिमले नगद ७ हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद ५ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

हैरान्स क्लबका कार्यवाहक अध्यक्ष कृष्णकुमार श्रेष्ठ (जेके) को अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा वडा नं. २ का अध्यक्ष काशीराम श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष अनुप राना, वडा सदस्य सुरेश वाग्ले, सुदिप गफ्फार, उज्वल भट्टराईलगायतले मन्तव्य राखेका थिए।


























