नवप्रवर्तनमा म्याग्दे गाउँपालिका अग्रणीगण्डकी प्रदेशसँग नवप्रवर्तन साझेदारी परियोजना सम्झौता सम्पन्न

नवप्रवर्तनमा म्याग्दे गाउँपालिका अग्रणीगण्डकी प्रदेशसँग नवप्रवर्तन साझेदारी परियोजना सम्झौता सम्पन्न


तनहुँ। स्थानीय शासन, सेवा प्रवाह तथा आर्थिक विकासमा नवीन सोच र सिर्जनशीलता भित्र्याउने उद्देश्यसहित म्याग्दे गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँग नवप्रवर्तन साझेदारी परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता सम्पन्न गरेको छ।
नवप्रवर्तन साझेदारी परियोजना सञ्चालन कार्यविधि, २०८२ अनुसार मिति २०८२/०८/२४ गते प्रकाशित सूचनाअनुसार पेश भएका प्रस्तावहरूमध्ये म्याग्दे गाउँपालिकाको परियोजना प्रदेश छनोट तथा सिफारिस समितिबाट उच्च मूल्याङ्कन भई मिति २०८२/१०/०९ गते बसेको प्रदेश निर्देशक समितिको निर्णयअनुसार स्वीकृत भएको हो। यससँगै म्याग्दे गाउँपालिका गण्डकी प्रदेशमा नवप्रवर्तनमार्फत विकास अघि बढाउने अग्रणी स्थानीय तहका रूपमा स्थापित भएको छ।
सम्झौतापत्रमा म्याग्दे गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्री नारायण प्रसाद अधिकारी तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गण्डकी प्रदेशको तर्फबाट सचिव एवं प्रदेश कार्यक्रम निर्देशक श्री कृष्णप्रसाद लम्सालले हस्ताक्षर गर्नुभएको हो। हस्ताक्षर कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, उपाध्यक्ष श्री बालकृष्ण घिमिरे, तथा प्रदेश कार्यक्रम व्यवस्थापक उपसचिव श्रीमती पार्वती लामिछानेको उपस्थितिमा रोहबर हस्ताक्षर सम्पन्न भएको थियो।
गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठले नवप्रवर्तन साझेदारी परियोजनाले स्थानीय सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रदेश सरकारसँगको सहकार्यले स्थानीय तहमा नवीन अभ्यासलाई संस्थागत गर्दै म्याग्दे गाउँपालिकालाई नमूना स्थानीय तहको रूपमा विकास गरिने बताउनुभयो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गण्डकी प्रदेश अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम मार्फत प्रदेश र स्थानीय तहको सह–लगानीमा सञ्चालन हुने यस परियोजनाले स्थानीय सुशासन सुदृढीकरण, सेवा प्रवाह सुधार तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
१ करोड ५० लाख रुपैयाँको लागतमा सञ्चालन हुने यस परियोजनाअन्तर्गत ‘डिजिटल अर्ली चाइल्डहुड एजुकेसन डेभलपमेन्ट प्रोजेक्ट’ कार्यान्वयन गरिनेछ। कुल लागत मध्ये गण्डकी प्रदेश सरकारले १ करोड ५ लाख रुपैयाँ र म्याग्दे गाउँपालिकाले ४५ लाख रुपैयाँ व्यहोर्नेछ। परियोजनाको कार्यान्वयनका लागि इन्जिनियर रोमन पण्डितलाई फोकल पर्सन तोकिएको छ।

सम्झौतासँगै म्याग्दे गाउँपालिकाले तोकिएको कार्ययोजनाअनुसार परियोजना कार्यान्वयन सुरु गर्नेछ। नवप्रवर्तनलाई विकासको मूलधारमा ल्याउने यस पहलले म्याग्दे गाउँपालिकालाई परिणाममुखी, उत्तरदायी र नवीन स्थानीय शासनको उदाहरणका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page