आर्थिक अभावबीच उज्यालो सपना: जनगणपति माविका विद्यार्थी प्रिन्सलाई सरोजको अभिभावकत्व

आर्थिक अभावबीच उज्यालो सपना: जनगणपति माविका विद्यार्थी प्रिन्सलाई सरोजको अभिभावकत्व

आर्थिक अभावका कारण शिक्षामा चुनौती भोग्दै आएका जनगणपति माध्यमिक विद्यालय कक्षा ७ का विद्यार्थी प्रिन्स थापाको भविष्यमा आशाको उज्यालो किरण थपिएको छ। व्यास नगरपालिकाका जनप्रतिनिधि तथा युवा व्यवसायी सरोज भण्डारीले प्रिन्सलाई कक्षा १० सम्म अभिभावकत्व लिने, सम्पूर्ण वार्षिक शैक्षिक खर्च व्यहोर्ने र अध्ययनमा निरन्तर राम्रो प्रदर्शन गरेमा भविष्यमा रोजगारीको अवसरसमेत उपलब्ध गराउने भावनात्मक प्रतिबद्धता व्यक्त गरेका छन्।
सामाजिक उत्तरदायित्वलाई जीवनको अभिन्न अंग बनाएका भण्डारीले आफूले कमाएको आम्दानीको केही हिस्सा सधैं दुःखी, गरिब तथा असहायको सेवामा समर्पण गर्दै आएको बताउँछन्। “शिक्षामा लगानी भनेको भविष्य निर्माण हो,” भण्डारीको भनाइ छ। भण्डारीले यसअघि पनि म्याग्दे ३ पाँडेथाेकमा रहेकी एक बालिकालाई सहयोग गरेका थिए ।
विद्यालयको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा शिक्षा र समाजसेवामार्फत मानवीय उदाहरण प्रस्तुत गरेको भन्दै जनगणपति माध्यमिक विद्यालयले सरोज भण्डारीलाई सम्मान गरेको छ। सम्मान समारोहमा प्रमुख अतिथि म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे , बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील न्याैपाने लगायत जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।


यस सहयोगले प्रिन्सको मात्र होइन, यस्तै परिस्थितिमा रहेका धेरै विद्यार्थीहरूको मनमा पनि आशा र आत्मविश्वास जगाएको विद्यालय परिवारले विश्वास व्यक्त गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page