प्रमुख जिल्ला अधिकारी तिवारी द्वारा याम्पाका कृषक भट्टराईकाे कृषि फर्मकाे निरीक्षण

प्रमुख जिल्ला अधिकारी   तिवारी द्वारा याम्पाका कृषक भट्टराईकाे कृषि फर्मकाे निरीक्षण

बन्दीपुर गाउँपालिका अन्तर्गत पर्ने याम्पा स्थित युवा कृषक सुर्य भट्टराईद्वारा सञ्चालित कृषिफर्ममा तनहुँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवलाल तिवारीले स्थलगत निरीक्षण गरेका छन्। जिल्लामा व्यावसायिक कृषि, विशेषगरी गाईपालनतर्फ भइरहेको प्रगतिबारे जानकारी लिन प्रजिअ तिवारी नेतृत्वको टोलीले उक्त फर्मको अनुगमन गरेको हो।
निरीक्षणका क्रममा प्रजिअ तिवारीले भट्टराईले सञ्चालन गर्दै आएको आधुनिक गाईपालन प्रणाली, पशु आहार व्यवस्थापन, गोठको सरसफाइ तथा दूध उत्पादन प्रक्रियाबारे चासोपूर्वक अवलोकन गरेका थिए। उनले कृषिमा युवाको आकर्षण बढ्दै जानु सकारात्मक संकेत भएको उल्लेख गर्दै यस्ता उदाहरणीय कृषकलाई राज्यले आवश्यक सहयोग र प्रोत्साहन दिनुपर्ने बताए।
“युवा पुस्ता कृषिमा जोडिनु आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधार हो,” प्रजिअ तिवारीले भने, “सुर्य भट्टराईजस्ता उद्यमशील कृषकलाई प्राविधिक तथा बजार व्यवस्थापनमा सहयोग गर्न प्रशासन प्रतिबद्ध छ।”
निरीक्षण टोलीमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) टेकबहादुर कार्की, जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रविनसन अधिकारी र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारी लगायतको सहभागिता रहेको थियो।
जिल्ला भेटनरी अस्पताल प्रमुख अधिकारीले गाईपालन व्यवसायलाई थप उत्पादनमुखी बनाउन पशु स्वास्थ्य सेवा, खोप तथा प्राविधिक सहयोग नियमित रूपमा उपलब्ध गराइने जानकारी दिए। उनले व्यवस्थित गोठ, सन्तुलित आहार र नियमित स्वास्थ्य परीक्षणले उत्पादनमा वृद्धि हुने उल्लेख गरे।
कृषक भट्टराईले आफ्नो फर्ममा आधुनिक प्रविधि अपनाउँदै व्यावसायिक रूपमा गाईपालन गर्दै आएको बताए। उनले स्थानीय स्तरमै रोजगारी सिर्जना र दुग्ध उत्पादन वृद्धि गर्ने लक्ष्यसहित काम गरिरहेको उल्लेख गर्दै राज्यबाट थप सहुलियत र बजार व्यवस्थापनमा सहयोगको अपेक्षा व्यक्त गरे।


उक्त निरीक्षणले जिल्लामा कृषिमा युवाको बढ्दो सहभागिता र व्यावसायिक गाईपालनतर्फको सम्भावनालाई उजागर गरेको सहभागीहरूले बताएका छन्। स्थानीय उत्पादन वृद्धि र आत्मनिर्भरता प्रवर्द्धनमा यस्ता नमूना कृषिफर्महरूको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ। भट्टराईकाे फर्ममा हाल १ सय ५० वटा गाई भैंसी रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page