दमाैलीकाे खेलमैदान स्तरोन्नतिकाे माग गर्दै रिमालले बुझाए खेलकुद मन्त्री पाेखरेललाइ निवेदन
तनहुँ,
व्यास नगरपालिका–३ दमाैलीमा रहेको खेलमैदानको स्तरोन्नति तथा पूर्ण निर्माणका लागि सम्बन्धित सरोकारवालाले शिक्षा, विज्ञान तथा प्रविधि युवा तथा खेलकुद मन्त्री सस्मित पाेखरेललाइ निवेदन दिएका छन्।
खेल मैदान सुधार समितिको तर्फबाट जेनजी युवा सुजन रिमालले मन्त्री पाेखरेल समक्ष पेश गरेको निवेदनमा उक्त क्षेत्रको खेलमैदान विगतदेखि नै विभिन्न खेलकुद गतिविधिका लागि प्रयोग हुँदै आएको उल्लेख गरिएको छ। सो मैदानमा स्थानीयदेखि जिल्ला स्तरसम्मका खेलकुद गतिविधि सञ्चालन हुँदै अन्तर्राष्ट्रियस्तरका समेत खेलाडी आएको भए पनि पछिल्लो समय विभिन्न कारणले मैदान त्यसको केही नजिकै विपी बनवाटिका खेलमैदानमा स्थानान्तरण गर्नुपरेको जनाइएको छ।
निवेदनअनुसार स्थानान्तरण गरिएको हालको खेलमैदान करिब १२ हजार ४ सय २२ दशमलव ८८ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ। तर, आवश्यक पूर्वाधार निर्माण अभावका कारण खेलमैदानको पूर्ण उपयोग हुन नसकेको अवस्था रहेको बताइएको छ।
समितिले प्रत्येक वर्ष योजना तयार गरिए पनि कार्यान्वयनमा समस्या भएको उल्लेख गर्दै खेलमैदानको स्तरोन्नति तथा पूर्ण निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्रालयसँग माग गरेको छ।

स्थानीयस्तरमा खेलकुद विकास र युवाहरुलाई प्रोत्साहन गर्न खेलमैदानको स्तरोन्नति अपरिहार्य रहेको उल्लेख गर्दै यस कार्यलाई प्राथमिकतामा राख्न आग्रह गरिएको रिमालले बताए ।


























