मोहनकुमार श्रेष्ठको संकेत : साँगेबाट व्यासको मेयर दौडतर्फ राजनीतिक सन्देश

मोहनकुमार श्रेष्ठको संकेत : साँगेबाट व्यासको मेयर दौडतर्फ राजनीतिक सन्देश


दमौली । व्यास नगरपालिका वडा नं ५ का निवर्तमान वडाअध्यक्ष माेहन कुमार श्रेष्ठले व्यास नगरपालिकाको आगामी मेयर पदका लागि आफ्नो राजनीतिक आकांक्षा सार्वजनिक रूपमा संकेत गरेका छन्।
व्यास नगरपालिका–५ साँगे बरबोटेमा आयोजित ‘द नाइनटिज’ वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै निवर्तमान वडा अध्यक्ष श्रेष्ठले खेलकुद, युवा नेतृत्व र स्थानीय विकासलाई जोड्दै आफू फेरि पनि सेवामा तयार रहेको सन्देश दिएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि व्यास नगर प्रमुख बैकुण्ठ न्याैपाने को उपस्थितिमा बोल्दै श्रेष्ठले खेलकुदले स्वास्थ्यसँगै समाजमा आत्मीयता, भाइचारा र एकतालाई मजबुत बनाउने बताए। प्रतियोगिताले युवालाई एकताबद्ध बनाउँदै साँगेको पहिचान स्थापित गरेको उल्लेख गर्दै उनले खेल मैदानको थप स्तरोन्नति र खेलकुद पूर्वाधार विकासमा आगामी दिनमा अझ काम गर्नुपर्ने आवश्यकता औंल्याए।
नेपाली कांग्रेसका युवा नेताका रूपमा परिचित श्रेष्ठ पार्टी सभापति गगन थापा निकट मानिन्छन्। स्थानीय राजनीतिक वृत्तमा उनलाई व्यास नगरपालिकाको भावी मेयरका दाबेदारका रूपमा हेरिँदै आएको छ। समापन समारोहमा उनले व्यक्त गरेको भनाइलाई धेरैले आफ्नै वडाबाट मेयर पदतर्फको स्पष्ट राजनीतिक संकेतका रूपमा बुझेका छन्।

छोटो समयमै स्थानीय युवामाझ छुट्टै पहिचान बनाउन सफल ‘द नाइनटिज’ क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको समापनसँगै खेलकुदसँगै व्यासको स्थानीय राजनीति पनि थप चर्चामा आएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page