उत्पादनमा आधारित दुग्ध अनुदान : आँबुखैरेनीका किसानलाई रु. २१ लाखभन्दा बढी वितरण

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रमअन्तर्गत दुग्ध उत्पादक किसानलाई रु. २१ लाखभन्दा बढी अनुदान वितरण गरेको छ।
“दुग्ध उत्पादनमा वृद्धि, कृषक समृद्धिको सुनिश्चितता” भन्ने नारासहित गाउँपालिकाले किसानलाई प्रोत्साहनस्वरूप प्रतिलिटर रु. ६ का दरले अनुदान उपलब्ध गराएको हो।
चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिकमा गाउँपालिकाभित्र ३ लाख ५९ हजार १ सय ९० लिटर दूध उत्पादन भएको थियो। सोही आधारमा किसानलाई कुल रु. २१ लाख ५५ हजार १ सय ४२ भुक्तानी गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमान ले जानकारी दिनुभयो।
अध्यक्ष चुमानका अनुसार गाउँपालिकाले “उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम” मार्फत स्थानीय दुग्ध उत्पादक किसानलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ। यस कार्यक्रमले दुग्ध उत्पादन वृद्धि, कृषकको आयआर्जन सुदृढीकरण तथा स्थानीय अर्थतन्त्रको विकासमा सकारात्मक योगदान पुगेको विश्वास गाउँपालिकाले लिएको छ।

गाउँपालिकाले दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री गर्दै आएका किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ। अनुदान कार्यक्रमलाई प्राथमिकता दिइएपछि किसान थप उत्साहित भएर व्यवसायिक पशुपालनतर्फ आकर्षित हुँदै गएको बताइएको छ।




























