दलित महिलाका लागि म्याग्देमा १५ दिने बरिष्टा तालिम सुरु

दलित महिलाका लागि म्याग्देमा १५ दिने बरिष्टा तालिम सुरु

तनहुँ, जेठ २६ — दलित महिलाहरूको सीप विकास, आत्मनिर्भरता तथा आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको १५ दिने बरिष्टा (कफी बनाउने) तालिम म्याग्दे गाउँपालिकास्थित स्काई इन होटलमा सुरु भएको छ।

गण्डकी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग तथा एकीकृत सेवा कार्यालय तनहुँको आयोजनामा सञ्चालन भएको उक्त तालिम जेठ २६ गतेदेखि असार १० गतेसम्म सञ्चालन हुनेछ।

तालिममा तनहुँ जिल्लाका व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकाबाट पाँच–पाँच जनाका दरले २५ जना दलित महिलाको सहभागिता रहेको छ।

उद्घाटन कार्यक्रममा एकीकृत सेवा कार्यालय तनहुँका प्रशासकीय अधिकृत याम बहादुर रानाले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा व्यास नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रमाया परियार उपस्थित रहनुभएको थियो। कार्यक्रममा म्याग्दे ४ का वडा अध्यक्ष दिपक कुमार श्रेष्ठ , म्याग्दे गाउँपालिका वडा नं. ३ की वडा सदस्य सुनिता नेपाली, हाम्रो दलित समाज शुक्लागण्डकीका संयोजक भरत लामगादे तथा व्यास नगरपालिका दलित महिला समूहकी अध्यक्ष लक्ष्मी परियार विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमको सञ्चालन सामान कन्सल्टेन्सीका कृष्ण रेग्मीले गर्नुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले तालिमले दलित महिलाहरूलाई व्यवसायिक सीप प्रदान गर्दै स्वरोजगार तथा उद्यमशीलता विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।
दलित महिलाहरूलाई कफी निर्माण तथा सेवा सम्बन्धी व्यावसायिक ज्ञान र सीप प्रदान गरी आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यसहित सञ्चालन गरिएको उक्त तालिमको उद्घाटन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page