गजुरे स्वास्थ्य चौकी सञ्चालनमा, तीन वडाका बासिन्दालाई सहज स्वास्थ्य सेवा
गजौडे, असार ३ – तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीको बुधबार नगरप्रमुख वैकुण्ठ न्यौपाने ले उद्घाटन गर्नुभएको छ।
उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख न्यौपानेले आधारभूत स्वास्थ्य सेवा प्रत्येक नागरिकको मौलिक हक भएकाले त्यसको प्रभावकारी कार्यान्वयनमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले स्वास्थ्य चौकी सञ्चालनमा आएपछि विशेषगरी वडा नं. ७, ९ र १० का बासिन्दाले नजिकबाट सहज स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा डा. जगदीश चन्द्र पोख्रेल ले स्वास्थ्य चौकी स्थापनासँग जोडिएको प्रसंग सुनाउँदै आफू योजना आयोगको उपाध्यक्ष रहँदा उक्त योजना समावेश गरिएको जानकारी दिनुभयो। स्थानीय रूपमा “गजौडे” नाम प्रचलित भए पनि रातो किताबमा “गजुरे” उल्लेख भएकाले सोही नाम आधिकारिक रूपमा कायम भएको उहाँले बताउनुभयो।
त्यसैगरी सरिता गुरुङ ले व्यास नगरपालिकाले स्वास्थ्य क्षेत्रको विकास तथा नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले उदाहरणीय काम गर्दै आएको बताउनुभयो। स्वास्थ्य चौकी सञ्चालनसँगै स्थानीयले गुणस्तरीय स्वास्थ्य सेवा नजिकबाट पाउने विश्वास व्यक्त गर्दै उहाँले यस्ता जनमुखी योजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा कलेस्ती उपत्यका महिला विकास समाजका अध्यक्ष रामप्यारी आले, संगम युवा क्लबका अध्यक्ष नरबहादुर गुरुङ, जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङ, स्वास्थ्य चौकी प्रमुख तथा अन्य स्थानीय अगुवाहरूले स्वास्थ्य चौकी सञ्चालनले स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

खुशीराम क्षेत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वास्थ्य चौकीका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।




























