ऋषिङ गाउँपालिकाको २१औँ गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत
तनहुँ, असार १० । ऋषिङ गाउँपालिकाको २१औँ गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सुशासन, सेवा प्रवाह, डिजिटल प्रणाली, सामाजिक विकास, सुरक्षा, वातावरण संरक्षण तथा दिगो विकासलाई प्राथमिकतामा राखिएको छ।
नीति तथा कार्यक्रममा गाउँपालिकाको सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र प्रविधिमैत्री बनाउने, प्रत्येक महिनाको आय–व्यय विवरण सार्वजनिक गर्ने, सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षणलाई नियमित गर्ने तथा भ्रष्टाचार र अनियमितता नियन्त्रणमा विशेष जोड दिइएको छ।
त्यस्तै, विकास योजना, ऐन, नियम, निर्देशिका तथा कार्यविधिलाई वेबसाइट, मोबाइल एप्स र सञ्चार माध्यममार्फत सार्वजनिक गर्ने, गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने तथा नागरिक सहायता कक्ष (हेल्प डेस्क) सेवालाई थप सुदृढ बनाइने उल्लेख गरिएको छ।
सम्पन्न योजनाहरूको सार्वजनिक परीक्षण, नियमित अनुगमन तथा समयमै हस्तान्तरण गर्ने, सार्वजनिक सम्पत्ति र जग्गाको अभिलेखीकरण तथा संरक्षण गर्ने र उपभोक्ताको हित संरक्षणका लागि नियमित बजार अनुगमन सञ्चालन गर्ने नीति लिइएको छ।
गाउँपालिकाको दोस्रो पञ्चवर्षीय आवधिक योजनासँग समन्वय हुने गरी मध्यकालीन खर्च संरचना तयार गरी विकास आयोजना व्यवस्थापन तथा सार्वजनिक खर्चलाई वैज्ञानिक र परिणाममुखी बनाइने कार्यक्रमसमेत समावेश गरिएको छ।
सामाजिक क्षेत्रमा धूम्रपान, मद्यपान, जुवा, तास तथा लागू पदार्थ दुव्र्यसन नियन्त्रणका लागि सचेतनामूलक अभियान सञ्चालन गरिने, सुरक्षित र मर्यादित समाज निर्माणका लागि विभिन्न कार्यक्रम अघि बढाइने उल्लेख छ।
त्यसैगरी गाउँपालिका तथा मातहतका कार्यालयलाई कागजरहित, प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली, डिजिटल हाजिरी तथा डिजिटल अभिलेखीकरण प्रणाली लागू गरिने जनाइएको छ।
सार्वजनिक सुरक्षालाई सुदृढ बनाउन वडा कार्यालय तथा संवेदनशील सार्वजनिक स्थानहरूमा सिसिटिभी क्यामेरा जडान गरी सुरक्षा निकायसँगको समन्वयमा निगरानी बढाइने कार्यक्रम पनि समावेश गरिएको छ।
वातावरण संरक्षणतर्फ प्लास्टिकजन्य फोहोर न्यूनीकरण, वातावरणमैत्री सामग्रीको प्रयोग प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले सुशासन, प्रविधिमैत्री सेवा, सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण तथा समग्र गाउँपालिकाको दिगो विकासलाई केन्द्रमा राखेको छ।



























