भिमाद नगरपालिकाको २२औँ नगरसभा सम्पन्न, रु ६६ करोड ३४ लाख ४५ हजारको बजेट प्रस्तुत
तनहुँ, असार १० । भिमाद नगरपालिकाको २२औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ६६ करोड ३४ लाख ४५ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ।
नगरसभामा नगर प्रमुख दधिराज सुवेदी ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख शारदा खनाल ले आय–व्यय विवरण पेश गरेकी थिइन्।
प्रमुख प्रशासकीय अधिकृत शोभाकर पोख्रेल का अनुसार विनियोजित बजेटमध्ये ७२ प्रतिशत अर्थात रु ४७ करोड ७७ लाख ७२ हजार चालुतर्फ तथा २८ प्रतिशत अर्थात रु १८ करोड ५६ लाख ७३ हजार पुँजीगततर्फ छुट्याइएको छ।
नगरसभामा विभिन्न विधेयकमाथि दफावार छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ। प्रस्तुत बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ, रोजगार प्रवर्द्धन तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
यस्तै, आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममाथि समेत विस्तृत छलफल भएको थियो। जनप्रतिनिधिहरूले नगरवासीको आवश्यकता र अपेक्षाअनुसार विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।

नगरपालिकाले पारित नीति, कार्यक्रम तथा बजेटले स्थानीय विकासलाई थप गति दिने विश्वास व्यक्त गर्दै आगामी आर्थिक वर्षमा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता जनाएको छ।



























