ऋषिङ गाउँपालिकाको बजेट ५३ करोड ६२ लाख ५० हजार, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधार विकासलाई प्राथमिकता

ऋषिङ गाउँपालिकाको बजेट ५३ करोड ६२ लाख ५० हजार, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधार विकासलाई प्राथमिकता


तनहुँ, असार १० — ऋषिङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड ६२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २१औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष गिनुमाया थापाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो।
प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, पर्यटन प्रवर्द्धन तथा रोजगार सिर्जनालाई प्राथमिकताका क्षेत्रका रूपमा समेटिएको छ। गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउने, स्थानीय नागरिकको जीवनस्तर उकास्ने तथा समग्र विकासलाई गति दिने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ।
बजेटका लागि गाउँपालिकाले विभिन्न स्रोतबाट आम्दानी हुने अनुमान गरेको छ। आन्तरिक आयबाट १ करोड ५० लाख रुपैयाँ संकलन हुने लक्ष्य राखिएको छ। संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट १० करोड ३७ लाख, राजस्व बाँडफाँडबाट ९ करोड ७८ लाख ९४ हजार, समपूरक अनुदानबाट ८५ लाख तथा सशर्त अनुदानबाट २४ करोड १९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानतर्फ १ करोड २६ लाख ८० हजार, राजस्व बाँडफाँडबाट ९० लाख र समपूरक अनुदानबाट ६० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को बैंक मौज्दातबाट १ करोड ५० लाख रुपैयाँ तथा तनहुँ हाइड्रोपावरमार्फत हस्तान्तरण हुने ५० लाख रुपैयाँलाई समेत आय स्रोतका रूपमा समेटिएको छ।


गाउँसभा अधिवेशनमा गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटमाथि गाउँसभामा छलफल गरी आवश्यक निर्णय गरिने गाउँपालिकाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page