बन्दीपुर गाउँपालिकामा रु ६८ करोड ७८ लाखभन्दा बढीको बजेट प्रस्तुत

बन्दीपुर गाउँपालिकामा रु ६८ करोड ७८ लाखभन्दा बढीको बजेट प्रस्तुत


तनहुँ, असार १० – बन्दीपुर गाउँपालिकाको १९औँ गाउँसभा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सुरु भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ।
सभामा अध्यक्ष थापाले २२२ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ भने गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले रु ६८ करोड ७८ लाख ८० हजार ८४९ रुपैयाँ ३० पैसा बराबरको अनुमानित बजेट, विनियोजन विधेयक तथा आर्थिक ऐन पेश गर्नुभएको हो।
प्रस्तुत बजेटमध्ये संघीय सरकार, प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट रु ६४ करोड ३८ लाख ८० हजार ८४९ रुपैयाँ ३० पैसा, अनिवार्य दायित्वतर्फ रु ४ करोड तथा लागत सहभागितातर्फ रु ४० लाख समावेश गरिएको छ।
बजेट विनियोजनअनुसार पूर्वाधार विकासतर्फ रु १३ करोड १२ लाख ८३ हजार, आर्थिक विकासतर्फ रु २ करोड ९५ लाख, सामाजिक विकासतर्फ रु ९ करोड ३८ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ७० लाख तथा प्रशासनिक एवं कार्यालय सञ्चालन खर्चतर्फ रु १३ करोड ४० लाख ९७ हजार ५६९ विनियोजन गरिएको छ। साथै गाउँपालिकाका ६ वटै वडामा सञ्चालन हुने पूर्वाधार तथा विषयगत कार्यक्रमका लागि रु ४ करोड ५० लाख छुट्याइएको छ।
गाउँपालिकाले आगामी वर्ष पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ। ‘पहाडकी रानी’ तथा गण्डकी प्रदेशको दोस्रो प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दीपुरको पर्यटन प्रवर्द्धन, संरक्षण र पूर्वाधार विकासमा विशेष जोड दिइएको छ। गाउँपालिकाले सबै वडाका पर्यटकीय स्थलहरूको दिगो विकास, पर्यटन डकुमेन्ट्री निर्माण, पर्यटकीय गाउँ तथा होमस्टे प्रोफाइल तयार गरी डिजिटल माध्यमबाट प्रचार–प्रसार गर्ने नीति लिएको छ।
यस्तै, ग्रामीण पर्यटन विस्तार, होमस्टेहरूको गुणस्तर सुधार, नमुना होमस्टे निर्माण, आवश्यक तालिम सञ्चालन तथा होमस्टे सर्किट विकासमार्फत बन्दीपुरलाई थप आकर्षक पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ।


गाउँसभामा ऊर्जा नीति तथा विपद् व्यवस्थापन ऐन, संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, बन्दीपुर अस्पताल तथा डुम्रे आधारभूत अस्पतालसँग सम्बन्धित विषयहरू समेत प्रस्तुत गरिएको थियो। साथै आर्थिक वर्ष २०८१/८२ को महालेखा परीक्षणबाट देखिएका बेरुजु सम्बन्धी प्रतिवेदन पनि गाउँसभामा पेश गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page