घिरिङ गाउँपालिकाको २०औँ गाउँसभाबाट ५० करोड रुपैयाँको बजेट पारित

घिरिङ गाउँपालिकाको २०औँ गाउँसभाबाट ५० करोड रुपैयाँको बजेट पारित


तनहुँ, असार १० । घिरिङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड रुपैयाँ बराबरको बजेट गाउँसभाको २०औँ अधिवेशनबाट पारित गरेको छ। गाउँपालिकाले कृषि, पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राख्दै नीति, कार्यक्रम तथा बजेट स्वीकृत गरेको हो।
बुधबार आयोजित गाउँसभामा गाउँपालिका अध्यक्ष होमबहादुर थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष राधादेवी अधिकारीले आय–व्यय विवरणसहित बजेट पेश गर्नुभएको थियो। पारित बजेटले भौतिक पूर्वाधार निर्माण, कृषि तथा पशुपालन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन विकास, वातावरण संरक्षण तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आयतर्फ ६ करोड १८ लाख ८६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। बजेटका प्रमुख स्रोतहरूमा गत आर्थिक वर्षको मौज्दात २ करोड रुपैयाँ, संघीय सशर्त अनुदान चालुतर्फ १८ करोड १९ लाख, सशर्त अनुदान पुँजीगततर्फ ६२ लाख, समपूरक अनुदान २ करोड ५९ लाख, विशेष अनुदान ९० लाख ५० हजार, वित्तीय समानीकरण अनुदान ८ करोड ७८ लाख तथा राजस्व बाँडफाँडबाट ७ करोड ८५ लाख रुपैयाँ समावेश छन्।
त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ५१ लाख, राजस्व बाँडफाँड ८१ लाख ५३ हजार, समपूरक अनुदान ६० लाख र विशेष अनुदान ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
विनियोजित बजेटमध्ये स्वास्थ्य क्षेत्रका लागि ९० लाख रुपैयाँ, कृषि तथा पशुपालन क्षेत्रका लागि ७० लाख रुपैयाँ, शिक्षा शाखाका लागि २ करोड रुपैयाँ तथा पूर्वाधार विकासतर्फ ४ करोड ६१ लाख ५५ हजार रुपैयाँ छुट्याइएको छ। साथै, अघिल्ला योजनाको भुक्तानी दिन बाँकी ३ करोड २५ लाख रुपैयाँको दायित्व व्यवस्थापनका लागि पनि बजेट विनियोजन गरिएको छ।


गाउँपालिकाले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा नागरिकको जीवनस्तर सुधारमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। गाउँसभाबाट नीति, कार्यक्रम तथा बजेट पारित भएसँगै आगामी आर्थिक वर्षका विकास निर्माणका गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page