जेठ महिनाको उत्कृष्ट प्रहरीका रूपमा असई दीपा खत्री सम्मानित
तनहुँ, असार ११ । जिल्ला प्रहरी कार्यालय तनहुँले प्रहरी सहायक निरीक्षक (असई) दीपा खत्री लाई २०८३ साल जेठ महिनाको “Best Police of the Month” घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत असई खत्रीले आफूलाई सुम्पिएको जिम्मेवारी इमान्दारी, कर्तव्यनिष्ठ र उच्च व्यावसायिक दक्षताका साथ सम्पन्न गर्दै उत्कृष्ट कार्यसम्पादन गरेपछि उक्त सम्मान प्राप्त गर्न सफल हुनुभएको हो।
विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत रहँदा लैङ्गिक हिंसा, घरेलु हिंसा तथा महिला र बालबालिकामाथि हुने विभिन्न अपराधका घटनामा प्रभावकारी अनुसन्धान, पीडितलाई न्याय दिलाउने प्रयास तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा उहाँको योगदान उल्लेखनीय रहेको प्रहरीले जनाएको छ।
प्रहरी संगठनभित्र पनि अनुशासित, मेहनती र दक्ष अधिकृतका रूपमा परिचित असई खत्रीले नयाँ प्रहरी कर्मचारीहरूलाई प्रशिक्षण तथा मार्गदर्शनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँको कार्यकुशलता, नेतृत्व क्षमता र सेवाभावले संगठनको प्रतिष्ठा बढाउन सहयोग पुगेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँले “उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०७९” बमोजिम असई खत्रीलाई जेठ महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषणा गर्दै हार्दिक बधाई तथा आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।



























