सर्च एण्ड स्विप अपरेसनमा ११ शंकास्पद व्यक्ति नियन्त्रण, ७ जनामाथि अनुसन्धान जारी
तनहुँ प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ११ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले २०८३ असार ११ गते लागुऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति–सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनाधिकृत प्रयोग रोकथामका लागि सञ्चालन गरेको अपरेसनमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएकामध्ये ४ जनालाई आवश्यक अनुसन्धानपछि आफन्तको जिम्मा लगाएर छाडिएको प्रहरीले जनाएको छ। बाँकी ७ जनामाथि थप अनुसन्धान भइरहेको छ।



























