मानुङमा गंगानगर दुग्ध सहकारीको दुईदिने वार्षिक योजना तर्जुमा गोष्ठी विभिन्न निर्णयसहित सम्पन्न
तनहुँ, असार २१। श्री गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०८३/८४ को वार्षिक योजना तर्जुमा गोष्ठी तनहुँको पर्यटकीय स्थल मानुङमा दुई दिनसम्म सञ्चालन भएर विभिन्न निर्णयसहित सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा आगामी आर्थिक वर्षका कार्यक्रम, बजेट, नीति तथा दीर्घकालीन विकास रणनीतिबारे व्यापक छलफल गर्दै विभिन्न निर्णयहरू गरिएको छ। गोष्ठीमा समूहगत छलफलमार्फत सदस्यका सुझाव संकलन, वार्षिक योजना तर्जुमा, संस्थागत सुशासन, विनियम तथा कार्यविधिसम्बन्धी विषयमा समेत निर्णय गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए।
कार्यक्रममा लेखा संयोजक नवराज ढकाल, संस्थापक अध्यक्ष ऋषिराम घिमिरे, पूर्व व्यवस्थापक रामप्रसाद सापकोटा, पूर्व अध्यक्ष माधव पौडेल, शिक्षा समितिका संयोजक बासुदेव सापकोटा, सल्लाहकार समिति सदस्य हरिकृष्ण सुवेदी तथा कुमारप्रसाद थपलियाले सहकारीको दिगो विकास, सदस्यको आयवृद्धि, गुणस्तरीय दुग्ध उत्पादन र बजार विस्तारमा जोड दिएका थिए।
वि.सं. २०४९ सालमा स्थापना भएको गंगानगर दुग्ध उत्पादक सहकारीले हाल चितवनसहित नवलपरासी, नवलपुर, लमजुङ, गोरखा तथा तनहुँको बन्दीपुर क्षेत्रसम्म दूध, दही, घिउ, पनिर, खुवा, मोही र नौनी लगायतका दुग्धजन्य सामग्री बिक्री–वितरण गर्दै आएको छ।
संस्थाले अब दमौली, मानुङ, खैरेनीटार, दुलेगौंडा हुँदै पोखरासम्म बजार विस्तार गर्ने लक्ष्यसहित योजना अघि बढाएको जनाएको छ। सहव्यवस्थापक घनश्याम दवाडीका अनुसार नेपालमै पहिलोपटक मोहीलाई ब्रान्डिङ गरी व्यावसायिक रूपमा बजारमा ल्याउने अवधारणा गंगानगर दुग्ध उत्पादक सहकारीले अघि सारेको हो। आगामी दिनमा उक्त ब्रान्डलाई अझ सशक्त बनाउँदै बजार विस्तार गर्ने योजनासहित संस्था अघि बढिरहेको उनले बताए।

गोष्ठीले आगामी आर्थिक वर्षको कार्ययोजना, बजार विस्तार र उत्पादन विविधीकरणका लागि महत्वपूर्ण मार्गनिर्देशन तय गरेको संस्थाले जनाएको छ।


























