तनहुँ पुनः पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

तनहुँ पुनः पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा


दमौली, असार २२। तनहुँ जिल्ला आर्थिक वर्ष २०८२/८३ का लागि निर्धारित सबै मापदण्ड पूरा गर्दै पुनः “पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला” घोषणा भएको छ। प्रदेश खोप समन्वय समितिबाट भेरिफिकेसन तथा प्रमाणीकरण सम्पन्न भएपछि सोमबार उक्त घोषणा गरिएको हो। यसअघि तनहुँ २०७२ साल कार्तिक २० गते पहिलोपटक पूर्ण खोप जिल्ला घोषणा भएको थियो।
जिल्लामा हाल २३८ वटा नियमित खोप केन्द्रमार्फत १३ रोगविरुद्ध निःशुल्क खोप सेवा सञ्चालन भइरहेको छ। आर्थिक वर्ष २०८२/८३ देखि HPV (पाठेघरको मुखको क्यान्सरविरुद्ध) खोप पनि नियमित कार्यक्रममा समावेश गरिएको छ।
पूर्ण खोप सुनिश्चितता कार्यक्रमअन्तर्गत जिल्लाका ८५ वटै वडा र १० वटै स्थानीय तहमा घरधुरी सर्वेक्षण तथा प्रमाणीकरण सम्पन्न गरिएको थियो। सर्वेक्षणअनुसार ०–१५ महिनाका ३,४२१ र १६–५९ महिनाका १०,९८१ बालबालिकामध्ये कुनै पनि शून्य डोज बालबालिका भेटिएनन्। पूर्ण खोप नपाएका १७ जना बालबालिकालाई छुट खोप प्रदान गरी सबैलाई राष्ट्रिय खोप तालिकाअनुसार पूर्ण खोप सुनिश्चित गरिएको जनाइएको छ।

जिल्ला खोप समन्वय समितिले यस उपलब्धिमा योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, अभिभावक, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट नछुट्ने वातावरण बनाउन सबैसँग सहकार्यको आग्रह गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page