विविध कार्यक्रमसहित २१३औँ भानु जयन्ती ३ दिन मनाइने

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीलाई विविध सिर्जनात्मक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइने भएको छ।
भानु नगरपालिकाका प्रमुख तथा भानु जन्मस्थल विकास समितिका निर्देशक आनन्दराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न समितिको बैठकले असार २७, २८ र २९ गते तीन दिनसम्म विविध कार्यक्रमका साथ २१३औँ भानु जयन्ती मनाउने निर्णय गरेको हो। असार २७ गते भानुभक्तसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न मठमन्दिरमा पूजा–अर्चना गरिनेछ। २८ गते भानुभक्तीय रामायण वाचन–पाठ प्रतियोगिता आयोजना गरिनेछ भने साँझ साहित्यकार, कवि तथा स्रष्टाहरूको सहभागितामा विशेष कवि गोष्ठी हुनेछ। असार २९ गते बिहान भानुभक्तको सालिकमा माल्यार्पणपछि झाँकीसहितको प्रभातफेरी निकालिने कार्यक्रम छ। त्यसपछि कविता वाचन, भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र कृतित्वमाथि विशेष छलफल तथा भानु जन्मस्थलको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारका विषयमा संवाद कार्यक्रम सञ्चालन गरिने भानु जन्मस्थल विकास समितिका कार्यकारी सचिव कृपाहरी लौडारीले जानकारी दिए।

बैठकमा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठ, समितिका पदाधिकारी तथा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, आमा समूह, टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले भानु जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।


























