“बचाऊ’ भन्ने गुहार सुनेपछि मादीमा हाम फाले पाेटबहादुर, दुई घण्टासम्म समातेरै जोगाए युवतीको ज्यान

“बचाऊ’ भन्ने गुहार सुनेपछि मादीमा हाम फाले पाेटबहादुर, दुई घण्टासम्म समातेरै जोगाए युवतीको ज्यान


दमौली । तनहुँको मादी नदीमा हाम फालेकी १७ वर्षीया युवतीको ज्यान जोगाउन आफ्नो ज्यानको समेत प्रवाह नगरी नदीमा हाम फाल्ने स्थानीय युवा पाेटबहादुर सारू अहिले सबैका लागि साहस र मानवताको प्रतीक बनेका छन्। उनको साहसिक कार्यप्रति चौतर्फी प्रशंसा भइरहेको छ।
गएराति करिब ८:१५ बजे व्यास नगरपालिका–३ देउरालीनगर र रिसिङ गाउँपालिका–१ झापुटार जोड्ने झोलुङ्गे पुलबाट युवतीले मादी नदीमा हाम फालेकी थिइन्। नदीको बीच भागमा रहेको एउटा ढुङ्गाको आडमा अड्किएकी उनले “बचाऊ, बचाऊ” भन्दै गुहार मागिरहेकी थिइन्।
त्यही आवाज सुनेपछि रिसिङ गाउँपालिका–१ होक्सेटार निवासी युवा पाेटबहादुर सारू एक क्षण पनि नसोची मादी नदीमा हाम फाले। तीव्र बहावलाई चुनौती दिँदै पौडी खेलेर युवतीसम्म पुगेका उनले उनलाई समातेर सुरक्षित राखे र उद्धार टोली नआउन्जेल करिब दुई घण्टासम्म ढुङ्गाको आडमा बसेर ज्यान जोगाइरहे।
घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र ठूलो संख्यामा स्थानीयवासी पुगे पनि नदीको तीव्र बहाव र गहिराइका कारण तत्काल उद्धार सम्भव भएको थिएन। अन्ततः करिब राति १०:१५ बजे नेपाली सेनाले डुंगा तथा डोरीको सहायताले नदीको बीच भागमा पुगेर युवती र सारू दुवैलाई सकुशल उद्धार गर्न सफल भयो।
यदि कोटबहादुर सारूले समयमै जोखिम मोलेर नदीमा हाम नफालेको भए युवतीको ज्यान जोगाउन निकै कठिन हुने स्थानीयहरूको भनाइ छ। उनको साहस, धैर्यता र मानवीय भावनाले एक युवतीको जीवन बचाएको भन्दै स्थानीयवासीले उनलाई सम्मान गर्नुपर्ने मागसमेत गरेका छन्।

ज्यानको पर्वाह नगरी अर्कोको जीवन बचाउन गरिएको पाेटबहादुर सारूको यो साहसिक कार्य अहिले तनहुँभरि प्रशंसाको विषय बनेको छ। सारूले आँफुले ती युवतीले नदिकाे बिचभागबाट बचाउ भन्दै चिच्याइरहेकाे सुनेपछि बचाउन सक्छु भन्ने साहस बटुलेर नदिमा पसेको बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page