२१३औँ भानु जयन्ती : कविता वाचनमा नारायणी अधिकारी प्रथम
तनहुँ, असार २८ । २१३औँ भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४, चुँदीरम्घामा आयोजित कविता वाचन तथा रामायण वाचन प्रतियोगिता सम्पन्न भएको छ।
भानु जन्मस्थल विकास समिति र भानु नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न कविता वाचन प्रतियोगितामा नारायणी अधिकारी प्रथम हुँदै नगद २० हजार रुपैयाँ पुरस्कार जितेकी छन्। प्रतियोगितामा सन्चिता शर्मा द्वितीय, राममाया श्रेष्ठ तृतीय तथा दयाराम पौडेल सान्त्वना भएका छन्। उनीहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
रामायण वाचन प्रतियोगितातर्फ पुनम सुनार प्रथम भएकी छन्। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन्। प्रतियोगितामा सुजता पौडेल द्वितीय, सरस्वती डौलिया तृतीय तथा अवानी काफ्ले सान्त्वना भएका छन्। उनीहरूले क्रमशः १० हजार, ५ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताका विजेताहरूलाई असार २९ गते २१३औँ भानु जयन्तीको अवसरमा आयोजना हुने विशेष समारोहमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।


























