भिमादमा निःशुल्क शुद्ध पिउने पानीका लागि ४ स्थानमा RO वाटर एटीएम सञ्चालन

भिमादमा निःशुल्क शुद्ध पिउने पानीका लागि ४ स्थानमा RO वाटर एटीएम सञ्चालन


भिमाद, तनहुँ। भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बजार क्षेत्रमा आउने सर्वसाधारण, स्थानीय बासिन्दा तथा सडक प्रयोगकर्तालाई निःशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले अत्याधुनिक RO Water ATM मेसिन चार स्थानमा सञ्चालनमा ल्याएको छ।
संस्थाका कार्यसमिति सदस्य सूर्य विश्वकर्माका अनुसार करिब ७ लाख ५० हजार रुपैयाँको लागतमा जडान गरिएका यी मेसिनहरू भिमाद नगरपालिका अगाडि, जनज्योति विद्यालय तथा क्याम्पस अगाडि, हेल्थपोष्ट तथा रङ्गशाला अगाडि र कुमारचोकमा सञ्चालनमा रहेका छन्। संस्थाले भविष्यमा आवश्यकता अनुसार थप स्थानमा पनि यस्ता मेसिन विस्तार गर्ने योजना बनाएको जनाएको छ।
RO (Reverse Osmosis) प्रविधिमा आधारित यी मेसिनले बहु-चरणीय प्रशोधन प्रणालीमार्फत पानीलाई शुद्ध बनाउँछन्। सेडिमेन्ट र कार्बन फिल्टरबाट पानीमा रहेका धुलो, बालुवा, गन्ध तथा रासायनिक अशुद्धी हटाइन्छ भने RO मेम्ब्रेन र जीवाणु नियन्त्रण प्रणालीबाट प्रशोधन गरी शतप्रतिशत सुरक्षित, शुद्ध तथा चिसो र सामान्य तापक्रमको पिउने पानी निःशुल्क उपलब्ध गराइन्छ।
संस्थाका अनुसार पछिल्लो समय केही व्यक्तिले घरायसी प्रयोजनका लागि ठूलो परिमाणमा पानी लैजाने गरेको पाइएकाले यी मेसिन मुख्य रूपमा यात्रु, सर्वसाधारण तथा बजारमा आवतजावत गर्ने व्यक्तिको पिउने प्रयोजनका लागि प्रयोग गर्न आग्रह गरिएको छ। मेसिनको नियमित मर्मत, फिल्टर परिवर्तन तथा गुणस्तर परीक्षण गर्दै सुरक्षित पानी उपलब्ध गराइने पनि संस्थाले जनाएको छ।
यस पहलसँगै अब भिमाद बजारमा आउने सडक प्रयोगकर्ता तथा स्थानीयलाई पानी किनेर पिउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ। सार्वजनिक हितका लागि गरिएको यस कार्यले हजारौं सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ।


भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यो उदाहरणीय अभियानबाट प्रेरणा लिएर तनहुँका अन्य खानेपानी संस्थाहरूले पनि यस्ता निःशुल्क शुद्ध पिउने पानी सेवा विस्तार गरेमा जिल्लाभरका नागरिक तथा यात्रुहरूलाई ठूलो राहत पुग्ने देखिन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page