युवा व्यवसायी सुबोध वाग्लेद्वारा विद्यालयमा स्टेसनरी सामग्री बैंक स्थापना
व्यास नगरपालिका वडा नम्बर ५ निवासी युवा उद्योगी व्यवसायी सुबोध वाग्लेले व्यास नगरपालिका वडा नम्बर ५ पराशर माध्यमिक विद्यालयमा स्टेसनरी सामग्री बैंक स्थापना गरेका छन् । विद्यालयका विद्यार्थीहरूलाई आवश्यक पर्दा उक्त स्टेसनरी बैंकबाट कपी तथा कलमहरू उपलब्ध गराउन सक्ने गरी उक्त बैंक स्थापना गरिएको वाग्लेले बताए ।

दैनिक रूपमा कपी कलम तथा शैक्षिक सामग्रीको अभाव देखाई पठनपाठन क्रियाकलापमा अवरोध उत्पन्न भइरहेको अवस्थामा त्यस्ता सामग्रीको आवश्यकता भएका बालबालिकाहरूलाई दैनिक आवश्यकता पूरा गर्ने गरी उक्त स्टेसनरी सामग्री बैंक स्थापना गर्नुभएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापाले बैंक स्थापनाकर्ता वाग्लेलाई धन्यवाद दिएका छन् ।

शिक्षक स्टाफ बैठक तथा अभिभावक भेलामा विद्यालयमा शिक्षकहरूबाट विद्यार्थीहरूले कपी तथा कलमहरू को अभावमा दैनिक पठनपाठन कार्यहरु गर्न असजिलो भएको अवस्थामा स्टेसनरी सामग्री बैंक स्थापना भइसकेपछि अब त्यस्ता समस्याहरु नआउने विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले बताए ।
हाललाई उक्त स्टेसनरी बैंकमा २०० वटा कपी एवं सोही परिणाममा कलमको व्यवस्था गरिएको छ। विद्यालयले दैनिक रुपमा विद्यार्थीहरूका आवश्यकता अनुसारका सामग्रीहरू रेकर्ड राखी विद्यार्थीलाई हस्तान्तरण गर्ने प्रअ पाैडेलले बताए । स्टेसनरी बैंकमा आवश्यक सामग्रीहरु थप्दै जाने प्रतिवद्धता समेत वाग्लेले व्यक्त गरेका छन् ।
























