अपाङ्गता भएका व्यक्तिलाई उचित माया र सेवा दिने सातजनालाई म्याग्देले गर्याे सम्मान



३३ औ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा म्याग्दे गाउँपालिकाले आफ्नाे घरका अपाङ्गता भएका व्यक्तिप्रति देखाउनुभएकाे माया , समर्पण र निश्वार्थ सेवाको उच्च मुल्यांकन गर्दै अनुकरणीय सेवाको कदर स्वरूप पालिका भित्रका सातजना लाई सम्मान गरेको छ ।

अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे लगायतका सहभागीहरूले पालिका भित्रका अपाङ्गलाई राम्रोसँग रेखदेख गर्ने उत्कृष्ट हेरालाेहरू लाई नगद , तथा सम्मानपत्र एवम् दाेसल्ला ओढाएर सम्मान गरीएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष श्रेष्ठले अपाङ्गता भएका व्यक्तिको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने हक सुनिश्चितताका लागि सरोकार भएका सबैलाई आह्वान गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले संविधानप्रदत हकअधिकारको कार्यान्वयनमा जोड दिएका थिए । उपाध्यक्ष घिमिरेले नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको स्मरण गराउँदै यसको पूर्ण कार्यान्वयनका लागि आह्वान गरेका थिए ।
सहभागीहरूले समान सहभागिता, अवसर र सहानुभूतिलाई प्रवर्द्धन गर्न सबैको प्रयास आवश्यक भएकाले यो दिवसले त्यसमा ऊर्जा थप्नसक्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी ,
म्याग्दे वडा नं १ का अध्यक्ष एवम् प्रवक्ता मणिभद्र वाग्ले , वडा नं ७ का अध्यक्ष एवम् समन्वय समिति सदस्य वसन्त कुमार श्रेष्ठ , कार्यपालिका सदस्य चिनिमाया थापा , म्याग्दे गापा अपाङ्गता सराेकार समन्वय समिति सदस्य एवम् वडा नं ३ का सदस्य सुनिता नेपाली , अपांगता सराेकार समिति म्याग्दे अध्यक्ष सन्जु शाही , कार्यपालिका सदस्य बद्रीका भट्टराई लगायतले बाेलेका थिए । उक्त कार्यक्रम कार्यपालिका सदस्य एवम् सामाजिक बिकास समिति उपसंयाेजक जानकी थापाले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रम सुरु हुनु अगाडि म्याग्दे गाउँपालिकाकाे कार्यालयबाट प्लेकार्ड सहितको र्याली निस्की बेलटार शभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा पालिका भित्रका ठुलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
























