आँबुखैरेनीमा ८० बर्ष माथिका दलित जेष्ठ नागरिकलाई सम्मान

आँबुखैरेनीमा ८० बर्ष माथिका दलित जेष्ठ नागरिकलाई सम्मान

१९औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आँबुखैरेनीका ८० बर्ष माथिका १८ जना दलित जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । “जातीय भेदभाव तथा छुवाछुत अन्त्य गरौं, समतामूलक समाजको निर्माण गरौं”भन्ने नारासहित आँबुखैरेनीमा आयोजित कार्यक्रममा उनिहरूलाइ नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो। 

आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै दलित समुदायलाई सधैं प्राथमिकता राखेर गाउँपालिकाले नीति तथा कार्यक्रम अघि बढाउँदै आएको बताए । कार्यक्रमका विशिष्ट अतिथि उपाध्यक्ष दुर्गा अर्यालले जातिय छुवाछुत र भेदभाव सामाजिक अपराध भएकाले यस्ता कार्यलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिएकी थिइन् । 
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी प्रमुख प्रहरी निरीक्षक टेकप्रसाद सुबेदीले छुवाछुत तथा जातीय भेदभाव सम्बन्धी कानुनी संरचना र दण्डनीय हुने व्यवस्थाबारे बताएका थिए । 
सोही अवसरमा गाउँपालिकामा निर्वाचित आठ जना दलित जनप्रतिनिधिहरूलाई पनि सम्मान गरिएको थियो ।
गाउँपालिका कार्यपालिका सदस्य गंगा विकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, समाजसेवी तथा बुद्धिजीवीहरूको सक्रिय सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले समाजमा समता, सम्मान र समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिदै दलित समुदायले भोग्दै आएका सामाजिक दमन, विभेद र त्यसले पार्ने मानसिक तथा आर्थिक असरबारे आ आफ्ना धारणा राखेका थिए। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page