नीति, योजना कार्यान्वयन बारे तनहुँका स्थानीय तह सँग अन्तरक्रिया

तनहुँ जिल्लाको स्थानीय तहको नीति, योजना तर्जुमा र कार्यान्वयनको बारेमा आज अन्तरक्रिया गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरको आयोजना र जिल्ला समन्वय समिति तनहुँको समन्वयमा भएको अन्तरक्रियामा तनहुँका १० वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको उपस्थिती रहेको थियो ।




अन्तरक्रियाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले प्रभावकारी नीति निर्माण र कार्यान्वयनले मात्र मुलुककाे विकासमा प्रभावकारी कदम चाल्ने बताए। समन्वय प्रमुख वाग्लेले केन्द्रबाट बिज्ञकाे रूपमा आउनुभएका व्यक्तिकाे उपस्थितिमा हुने यस किसिमको कार्यक्रम बाट तनहुँले फाइदा लिन सक्नुपर्ने बताए । तिनवटा सरकार मध्ये सबैभन्दा कम बिवादित र माथिल्लो श्रेणीमा स्थानीय तह रहिरहेकाे अवस्थामा अझै यसलाई निखारपन ल्याउन यस कार्यक्रमले ठुलो सहयोग पुग्ने प्रमुख वाग्लेकाे भनाइ थियो ।

अन्तरक्रियामा नेपाल सरकारका पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदीले स्थानीय तहको योजना, नीति निर्माण र कार्यान्वयनको बारेमा र प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जिल्ला प्रशासन कार्यालयबाट हुने कार्यसम्पादनमा नीतिगत जटिलताको बारेमा सहजिकरण गरेका थिए । कार्यक्रममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका अनुसन्धान अधिकृत हेमराज थापा र प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरीले स्थानीय तहको प्रभावकारी नीति तर्जुमाको बारेमा धारणा राखेका थिए ।
अन्तरक्रियामा म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरे, शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन र भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले आ आफ्नो पालिकाको वार्षिक कार्यप्रगती तथा आआफ्नाे पालिकाकाे असल अभ्यास तथा अन्य अवस्थाको बारेमा प्रस्तुति दिएका थिए । उनिहरूले बजेट खर्च र वित्तीय श्राेतकाे अवस्था , गत आव र चालू आवकाे बजेट खर्चको स्थिति , राजश्वकाे लक्ष्य र प्रगति , संघ र प्रदेश बाट प्राप्त वित्तीय हस्तान्तरण ( राजश्व बाँडफाँड सहित ) र मुख्य उपलब्धिहरूकाे बारेमा बताएका थिए ।
























