भिमाद नगरपालिकाका सात कर्मचारी नगद सहित सम्मानित
भिमाद नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने सात जना कर्मचारीलाई सम्मान गरेको छ। नगरपालिकाको २०औँ नगरसभाको अवसर पारेर शुक्रबार उनीहरूलाई नगद पुरस्कार सहित सम्मान–पत्र प्रदान गरिएको हो।

सम्मानित हुने कर्मचारीहरूमा प्रशासकीय अधिकृत अजय सुवेदी, लेखापाल श्यामप्रसाद सापकोटा, पशु प्राविधिक सबिन भट्टराई, सब इन्जिनियर टेक प्रसाद जोशी, अमिन सरोज गैरे, स्टाफ नर्स पूर्णिमा नेपाली र कार्यालय सहयोगी तेजमाया श्रेष्ठ रहेका छन्। उनीहरूलाई नगर प्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल र प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले जनही रु २५ हजार नगद र सम्मान–पत्र प्रदान गरी सम्मान गरेका हुन्।

कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई बधाई ज्ञापन गर्दै सेवा प्रवाहमा सबै कर्मचारी इमान्दार र जिम्मेवार बन्नुपर्नेमा जोड दिए। उनले कर्मचारी र जनप्रतिनिधि बीचको समन्वय अझ प्रगाढ हुनुपर्ने उल्लेख गर्दै यस्ता सम्मानले कर्मचारीलाई अझ प्रेरणा र हौसला मिल्ने विश्वास व्यक्त गरे।

























