मर्स्याङ्दी नदी किनारमा अन्दाजी ३५–४० वर्षीय पुरुषको शव फेला
आँबुखैरेनी, श्रावण १३ – तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ स्थित नमुना खत्रिटोलको तल मर्स्याङ्दी नदीको किनारमा अन्दाजी ३५ देखि ४० वर्षको जस्तो देखिने एक पुरुषको शव सोमबार बेलुका फेला परेको छ।
स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शवलाई थप प्रक्रियाका लागि दमौली अस्पताल ल्याएको छ। मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन।

शव सडेकोको अवस्थामा फेला परेकोले केही दिन अगाडि मृत्यु भएको अनुमान गरिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले मृतकको पहिचान खुलाउन र मृत्युको कारण पत्ता लगाउन सार्वजनिक सहयोगको समेत आग्रह गरेको छ।

























