म्याग्देमा निर्माण भएको काेल्डस्टाेर सञ्चालनमा:

म्याग्देमा निर्माण भएको काेल्डस्टाेर सञ्चालनमा:

म्याग्दे गाँउपालिका वडा न. ३ को विरुवा, खिरेडाँडामा निर्माण भएको कोल्ड स्टोरेज अर्थात चिस्यान केन्द्र सञ्चालनमा आएको छ ।
कोल्ड स्टोरमा हाललाई आलु भण्डारण गर्ने व्यवस्था रहेको र छिटैनैं तरकारी, फलफूल, पुष्प र मासु जस्ता कृषि उपज भण्डारण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव रुक्मिता घिमिरेले चिस्यान केन्द्रमा भण्डारणका लागि प्रतिकिलो रु १० शुल्क कायम गरिएको बताइन् । गाउँपालिकाभित्रका कृषकलाई भने ५० प्रतिशत अनुदान दिइनेछ । “चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिले भण्डारणका लागि शुल्क निर्धारण गरेको छ, चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका कृषकलाई प्रतिकिलो रु पाँचमात्रै शुल्क लाग्नेछ” घिमिरेले भनिन् ।

घिमिरेले कृषकलाई वडाका टोल विकास संस्थामार्फत एकमुष्ठ आलु सङ्कलन गरी चिस्यान केन्द्रमा भण्डारण गर्न सूचीत गरिएको जानकारी दिइन् । आलु सङ्कलन गर्दा प्रत्येक बोरा ५० किलोको हुनुपर्ने निर्णय गरिएको उनले बताइन् ।

म्याग्दे गाँउपालिकाको मुल्यांकन समितीको निर्णय अनुसार पासा कन्ट्रक्सनले चिस्यान केन्द्र निर्माणको शुरुवात गरेको थियो । आर्थिक वर्ष २०७९।०८० को ठेक्का नं ०३।०७९।८० वाट पासा कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

२०७९।९।१ मा सम्झौता भएको चिस्यान केन्द्र १ करोड ४७ लाख ४ हजार ६ सय ४७ रुपैयामा वनेकाे हाे । चिस्यान केन्द्रमा कृषकद्धारा उत्पादित फलफुल, तरकारी लगायतका वस्तुहरुलाई राखिने गाँउपालिकाले जनाएको छ । कृषकद्धारा उत्पादित वस्तुको भण्डारणका लागी चिस्यान केन्द्र वनाईएको र त्यसले गर्दा कृषकहरु पुर्ण रुपमा लाभान्वित हुने पालिकाले जनाएको छ ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिका समृद्ध वनाउनका लागी उत्पादन र कृषिमा हाम्रो प्राथमिकता रहेको बताए । कृषकले फलफुल र तरकारी उत्पादन गर्ने तर समयमा विक्री हुन नसक्ने समस्या टड्कारो छ । जसले गर्दा कृषकलाई सधै वजार पाउन सक्ने अवस्था थिएन । उत्पादित वस्तु समयमा वेच्न नसक्ने हुदाँ सड्ने र वस्तु घाटामा वेच्नुपर्दा व्यवसायमा असर पर्ने देखिएकोले गर्दा चिस्यान केन्द्र मार्फत वस्तुको भण्डारण गर्न लागिएको गाँउपालिकाका अध्यक्ष श्रेष्ठले वताए । कृषकलाई उत्पादनमा प्रेरित गर्ने वस्तुको वजारीकरणमा सहयोग गर्ने गरि पालिका अगाडी वढेको छ । चिस्यान केन्द्र सञ्चालनमा आए पछि कृषक आफैले उत्पादित वस्तुको भण्डारण र विक्री गरि आयआर्जनमा वृद्धि गर्नेछन् श्रेष्ठले भने ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page