इलाका प्रशासन कार्यालय भिमादमा स्थापना गर्न माग गर्दै रास्वपाकाे ज्ञापनपत्र:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाका प्रशासन कार्यालय भिमादमा स्थापना गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेस गरेको छ ।
पार्टीको क्षेत्रीय कार्यसमितीका सभापति डा.शेष रमण न्यौपानेको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय अनुसार ज्ञापनपत्र बुझाइएको रास्वपा म्याग्देका संयाेजक मनाेज अधिकारीले बताए । घिरिङ गाउँपालिका , भिमाद तथा शुक्ला गण्डकी नगरपालिकाका सम्पूर्ण वडा र म्याग्दे तथा रिसिङ गाउँपालिकाका केहि वडाका बासिन्दाले स्थानीय प्रशासनबाट पाउने सार्वजनिक सेवामा सरल पहुंच स्थापना गर्न आवश्यक भएकाले यस तर्फ यस भन्दा अगाडि पनि सामान्य पहल भए पनि कार्यान्वयन हुन नसकेको अवस्थामा रास्वपाले नयाँ शिराबाट पहल थालेको हाे ।

भौगोलिक विकटताका कारण त्यस भेगका जनतालाई नागरिकता र राहदानी जस्तो सेवा लिन पनि जिल्ला सदरमुकाम दमौली जानु पर्ने, कतिपय अवस्थामा बास बस्नु पर्ने अवस्थाको अन्त्य गराउनकाे लागि यसको शीघ्र कार्यान्वन गर्न उपप्रधान तथा गृह मंत्रीलाई ध्यानाकर्षण गर्ने समेत सो पार्टीले निर्णय गरेको पार्टीका म्याग्दे संयाेजक मनाेज अधिकारीले बताए ।

यसका लागि प्रारम्भिक चरणमा जिल्ला प्रशासन कार्यालय, तनहुँ मार्फत गृह मन्त्रालय लाई ज्ञापन पत्र पेश गरिएकाे रास्वपा तनहुँ २ का क्षेत्रीय सचिव सुन्दर बस्यालले बताए ।
यस सम्बन्धमा तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम सँग सम्पर्क गर्दा पहिले पनि यस बिषय माथि सम्म पुगेको तर बिभागमा राेकिएकाे भन्ने थाहा पाएकाे भन्दै मन्त्रालयले निर्णय गरे इलाका प्रशासन राख्न सकिने बताए । यहाँहरूले बुझाउनु भएको ज्ञापनपत्र लाई तत्कालै मन्त्रालयमा पठाउने उनले जानकारी दिए ।




































