भानुका मितब्ययी हाकिम गौतम भण्डारीको बिदाइमा सबै भावुक

भाद्र १८ गते बुधबारका दिन भानु नगरपालिकाकाे हलमा जनप्रतिनिधि र कर्मचारीहरूकाे बाक्लो उपस्थिति थियो । अन्य समयकाे कार्यक्रममा भन्दा सहभागीहरूकाे अनुहार केही मलिनाे प्रस्टै देखिन्थ्याे ।कार्यक्रमकाे सन्दर्भ थियो मितब्ययी हाकिमले परिचित प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको फेरि भेटाैँला एवम् बिदाइ कार्यक्रम !


विगत साँढे सात महिनादेखि भानुमा कार्यरत गौतम भण्डारीकाे छोटो अबधिमा भएको अकस्मातकाे सरूवाले समग्र भानुबासी चिन्तित भएका छन् । प्रमुख भण्डारीकाे वैयक्तिक आचरण, सेवाग्राहीमैत्री कार्यसम्पादन, मितव्ययिता, सादा जीवन र प्रशासनिक कुशलताबाट स्थानीय नगरवासी निकै प्रभावित भएका थिए । छाेटाे अबधिकाे बसाइमा बौद्धिक व्यक्तित्व र कुशल प्रशासकको पहिचान बनाउनु भएका गौतमको बिदाइको क्षणमा निकै भावुक वातावरण बनेको थियो । प्रमुख भण्डारीकाे बौद्धिकता, मिलनसारिता, मृदुपना, वैयक्तिक आचरण, अध्ययनशीलता, सादा जीवन उच्च विचार तथा प्रशासनिक कौशलता वास्तवमा सबैका लागि अनुकरणीय भएको बिदाइ कार्यक्रममा नगर प्रमुख आनन्द राज त्रिपाठीले बताएका थिए । कार्यक्रममा सहभागीहरूले यत्तिकाे मितब्ययी हाकिम भानु नगरपालिकाले अहिलेसम्म नपाएको र कामले गति लिने समयमा छाेटाे समयमै बिदाइ गर्नुपर्दा भानुबासीकै लागि दुर्भाग्य भएको बताएका थिए ।
भानुमा छोटो समयमा वहाँको कार्य सम्पादनको मूल्यांकन भानुका हरेक नगरवासीले गर्ने नगर प्रमुख त्रिपाठीको भनाइ थियो । बिदाइ कार्यक्रममा जनप्रतिनिधि एवम् कर्मचारीले फुलकाे गुच्छा सँगै केहीले पुस्तक समेत सम्झनाका लागि आफ्नाे अभिभावक भएको भन्दै दिएका थिए । प्रमुख भण्डारीले भानु बसाइका क्रममा साथ सहयोग गर्ने सबै प्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।

गाैतमकाे लुम्बिनी प्रदेश अन्तर्गत बारबर्दिया नगरपालिका बर्दियामा सरूवा भएको छ ।
























